हेटौंडाः नुवाकोट र चितवन जिल्लाको विभिन्न स्थानमा ३ जनाको मृत्यु भएको छ । आइतबार चितवनमा २ र नुवाकोटमा १ गरी ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–११, ढाडखर्कमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६१ वर्षीय ज्ञान बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
तामाङ आइतबार बिहान ८ बजेको समयमा गोरेटो बाटोदेखि एक सय मिटर तल खोल्सामा खसेर मृत अवस्था फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जानकारी दिएको छ । यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६, सिसवारमा एकजना पुरुष मृत फेला परेका छन् । आइतबार नारायणी नदि किनारमा नामथर नखुलेको अन्दाजी ४५ वर्षीय (नदिले बगाई ल्याएको जस्तो देखिने) पुरुष व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको राप्ती नगरपालिका–१, महादेवटारमा मोटरसाइकल र बस एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका–१ का ४७ वर्षीय अर्जुन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार पूर्व–पश्चिम राजमार्गमा हेटौंडाबाट भण्डारातर्फ जाँदै गरेको ना ३९ प ५०४८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा प्र ०३–००१ ख २५३६ नम्बरको बसको पछाडि साईटमा ठोकिँदा तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।