हेटौँडाः यु–१६ महिला फुटबलको राष्ट्रिय टिमको प्रारम्भिक सूचीमा मकवानपुरको बकैया गाउँपालिकाकी लमिन भोम्जन छनोट भएकी छिन् । राष्ट्रिय टिमको छनोटका लागि प्रारम्भिक सूचीमा बकैयाकी भोम्जनसहित देशभरका ३५ जना महिला खेलाडीमा छनोट भएका हुन् । बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट ३५ जना खेलाडीको सूचीमा भोम्जन पर्न सफल भएको बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताउनुभयो ।
भोम्जन कुनैपनि क्लबमा आवद्ध नभएको अध्यक्ष लामाले जानकारी दिनुभयो । गत वर्ष भएको पालिकास्तरीय प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रर्दशनलाई कायम राख्दै भोम्जन प्रदेशस्तरीय छनोट प्रतियोगितामा समावेश हुन सफल भएकी हुन् । स्थानीय तहकै प्रतियोगिताबाट पहिलो राष्ट्रियस्तरको प्रारम्भिक सूचीमा पर्न सफल भएको अध्यक्ष लामाले बताउनुभयो ।
यसअघि उनी कुनै पनि राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी नभएको उहाँले बताउनुभयो । यही पुस २४ गतेबाट यु–१६ मा सहभागी हुन प्रदेशको ४५ वटा जिल्लाबाट महिला खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । महिला खेलाडीहरुलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराउने उद्देश्यले अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फामा आवद्ध भएका ४८ जिल्ला फुटबल संघहरुलाई टिम छनोट गर्न अनुरोध गरेको छ ।