हेटौंडाः ॐ आरोग्य उपभोक्ता सहकारीले ३ करोड रुपैयाँभन्दा बढी कारोबार गरेको छ । शुक्रबार सहकारीको ११ औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष बीके महर्जनले आर्थिक वर्ष २०७९÷०८० मा संस्थाको कारोबार ३ करोड ९ लाख ८७ पुगेको जानकारी गराउनुभयो ।
वि.स २०६९ मा १३७ जना शेयर सदस्यताबाट सुरु भएको संस्थाको शेयर सदस्य महिला ४३३ र पुरूष २२८ गरी जम्मा ६६१ रहेका छन् । संस्थाको शेयर पुँजी वृद्धिका लागि शेयर संरचनामा परिमार्जन गरी संस्थाको न्यूनतम शेयर संख्या ५० कित्ता र अधिकतम २५० कित्ता कायम गरी संस्थाको शेयर पुँजी ५६ लाख २९ हजार रुपैयाँ पु¥याइएको अध्यक्ष महर्जनले जानकारी गराउनुभयो ।
संस्थाको असार मसान्तसम्म २ करोड २९ लाख ११ हजार निक्षेप संकलन गरेको छ । ऋण परिचालन १ करोड ५२ हजार ५ सय रुपैयाँ रहेको छ । ३ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य निर्धारण गरिएकोमा विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको प्रभावका कारण लक्ष्य प्राप्त गर्न नसकेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको बढ्दो अविश्वासका कारण बचत परिचालनमा नकारात्मक प्रभाव परेको उहाँको भनाइ छ ।
संस्थाले २ करोड ५५ लाख ४० हजार ऋण लगानी गरेकोमा ४१ लाख ४८ हजार व्याज आम्दानी गरेको छ । कार्मचारी खर्च १० लाख ६१ हजार, प्रशासनिक खर्च ४ लाख ६८ हजार भएको छ भने संस्थाले ८ लाख ३९ हजार खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षमा संस्थाले शेयर तथा बचत नीति कार्यान्वयनमा कडाई, लगानी नीतिमा कडाई गर्ने उहाँले भन्नुभयो ।
संस्थाका अध्यक्ष महर्जनको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरापालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको हो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुह हिम पौडेल, पतञ्जली योग समिति जिलला अध्यक्ष रामकृष्ण थापालगायतको उपस्थिति रहेको थियो ।