हेटौँडाः हेटौँडा उपमहानगर क्षेत्रका ५४ वटा विद्यालयमा अर्धवार्षिक परीक्षा सुरु भएको छ । बिहिबारबाट सुरु भएको परीक्षा पुस २६ गतेसम्म सञ्चालन हुनेछ । नगरस्तरीय शैक्षिक समन्वय समितिको सहजीकरणमा परीक्षा भइरहेको छ ।
नगरस्तरीय शैक्षिक समन्वय समितिले प्रश्नपत्र तयार पारेर ५४ वटै विद्यालयलाई उपलब्ध गराएको समितिका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभएको छ । हेटौँडा उपमहानगरमा ७३ वटा सामुदायिक विद्यालय छन् । परीक्षा बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म एक सिफ्ट हुन्छ भने दोस्रो सिफ्ट साढे १ बजेदेखि साढे ३ बजेसम्म हुन्छ । परीक्षा सञ्चालन तथा व्यवस्थापनमा हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले परीक्षाको सञ्चालन तथा व्यवस्थापनमा कुनै किसिमको सहभागिता र सहजीकरण गर्ने गरेको छैन ।
सामुदायिक विद्यालयका शिक्षकहरुले सञ्चालन गरेको समन्वय समितिले नै परीक्षा सञ्चालन तथा व्यवस्थापनको कार्य गर्दै आइरहेको छ । अर्धवार्षिक परीक्षाको नतीजा आगामी माघ १५ गतेसम्ममा सार्वजनिक गरिसक्ने योजना बनाएको अध्यक्ष लुइटेलले बताउनुभएको छ ।
हेटौँडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयमा बिहिबार परीक्षा दिँदै विद्यार्थी ।