शौचालयको चाबी वडा अध्यक्षलाई हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख लामा ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले बिहिबार हेटौँडा–४, हुप्रचौरमा शौचालय उद्घाटन गर्नुभएको छ । शौचालयको निर्माण भने संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गरेको हो । स्थानीय सरकारको रुपमा हेटौँडा उपमहानगरपालिका स्थापित भएको ६ वर्ष बितिसक्दा समेत हेटौँडा उपमहानगरपालिका आफैँले भने एउटा पनि सार्वजनिक शौचालय निर्माण गर्न सकेको छैन ।

शारीरिक अशक्तहरुका लागि समेत उपयुक्त हुने गरी शौचालय निर्माण गरिएको बताइएको छ । सार्वजनिक शौचालयको व्यवस्थापन र सञ्चालन वडा कार्यालयले गर्नेछ । ३३ लाख ७० हजार रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको हो । खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख उज्जवल प्रजापति, वडा अध्यक्ष नवीन सिग्देलको समेत उपस्थितिमा शौचालय उद्घाटन गरिएको हो ।