हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा भएको पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बाल जीवनज्योति माध्यमिक विद्यालयले जितेको छ । बुधबार सम्पन्न भएको प्रतियोगितामा ९ वटा स्वर्ण पदक प्राप्त गर्दै बाल जीवनज्योतिले उपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरी द्वितीय भएको छ । विद्यालयले ५ स्वर्ण पदक प्राप्त गरेको हो । यस्तै, युवावर्ष आधारभूत विद्यालय पनि ५ स्वर्णसहित तृतीय भएको छ । प्रतियोगितामा पुरुष कबड्डीमा राष्ट्रिय रोटरी मावि प्रथम र राष्ट्रिय मावि सुनाचुरी द्वितीय भएका छन् । महिलातर्फको कबड्डीमा बाल जीवनज्योति मावि प्रथम र पशुपतिनाथ मावि द्वितीय भएका छन् । पुरुष भलिबल प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय प्रथम र राष्ट्रिय रोटरी माध्यमिक विद्यालय द्वितीय भएको छ । महिलातर्फको भलिबल प्रतियोगितामा युनाइटेड बोर्डिङ प्रथम र महेन्द्र किरण माध्यमिक विद्यालय द्वितीय भएको छ ।
प्रतियोगितामा १२ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयबाट २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । पालिकास्तरीय प्रतियोगितामा छनौट भएको प्रतियोगीहरु जिल्लास्तरीय हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् ।
प्रतियोगिता आयोजनाका लागि पालिकाबाट करिब ४ लाख रुपैयाँ प्राप्त भएको थियो । पालिका खेलकुद विकास समितिका अध्यक्ष वीरु लामाको सभाध्यक्ष तथा पालिकाका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको थियो । पुरस्कार वितरण कार्यक्रममा पालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रदीप पराजुलीको पनि उपस्थिति रहेको थियो ।