हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३, सरिखेतमा बालविवाह न्यूनीकरणका लागि सरोकावालाहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । अस्मिता नेपालको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्य रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका बासिन्दाहरुले बालविवाह न्यूनीकरणको विषयमा छलफल गरेका थिए । सोमबार भएको कार्यक्रममा सहभागी भएका स्थानीयले गाउँपालिकाका आभिभावकहरु अशिक्षित तथा अज्ञानी भएका कारण बालविवाहको नकारात्मक पक्षको बारेमा थाहा नभएको बताएका हुन् ।
अहिलेको समयमा बालबालिकाहरुले आभिभावकसँग भन्दा धेरै सामाजिक सञ्जालमा समय बिताउने कारणले बालविवाहजस्ता सामाजिक समस्या भित्रिएको सहभागी स्थानीयको भनाइ छ । छलफलमा सहभागीहरुले गाउँटोलमा गई कार्यक्रम गर्न तथा जनचेतना जगाउन आवश्यक रहेको बताएका छन् ।
छलफलमा कतिपय अभिभावकलाई आफ्ना बालबालिका विद्यालय गए÷नगएको जानकारीसमेत नहुने तथ्य उजागर गरिएको छ । विद्यालय अनुपस्थित हुने बालबालिकाको बारेमा शिक्षकले अभिभावकलाई जानकारी गराउनुपर्नेमा जोड दिइएको छ । बालबालिकालाई शिक्षक तथा अभिभावकले निगरानी राख्न आवश्यक रहेको बताइएको छ ।
अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले बालबालिकाको राम्रो तथा असल व्यवहारका लागि स्थानीयले बैठक गर्न तथा योजना बनाउन आवश्यक रहेको बताउनुभयो । अस्मिता नेपालले पहिल्यैदेखि बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको पाठकको भनाइ छ । पाठकका अनुसार ४ वर्षदेखि अस्मिता नेपालले बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिरहेको छ । राक्सिराङ गाउँपालिकालाई बालविवाहमुक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पाठकले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष मल्लले राक्सिराङ गाउँपालिका सामाजिक तथा आर्थिक स्थितिमा पछाडि परेको र गरिबीका कारण बालविवाह अन्त्य गर्न कठिनाई भएको बताउनुभयो । गाउँपालिकामा गरिबी नरहे यस्ता समस्या नआउने उहाँको भनाइ छ । राक्सिराङ गाउँपालिकाले अहिलेदेखि नै बालविवाह न्यूनीकरण गरे भविष्यमा यस्तो समस्या देखा नपर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले महिला तथा बालबालिकासम्बन्धी विषयमा वहस पैरवी गर्न कानुन व्यवसायीको व्यवस्था गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बाल हेल्पलाइन मकवानपुरका झविन्द्र ज्ञवालीले नेपालमा बालविवाह बढेपनि विवाह सफल नभएको बताउनुभयो । पहिलाको समयमा छिटो विवाह हुने र किशोरावस्थामा बच्चा जन्मेपछि किशोरीहरुको स्वास्थ्यमा असर पर्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न नेपाल सरकारले कानुन ल्याएको उहाँले बताउनुभयो । बाल विवाहले धेरै समस्या निम्त्याएको उहाँको भनाइ छ । बाल विवाह गर्नेलाई ३ वर्षसम्म कैद सजाय हुनसक्ने उहाँले जानकारी दिनुभयो । बालविवाहजस्तो जटिल विषयमा अभिभावकहरुले बालिबालिकासँग आत्मीय साथीजस्तो भएर सम्झाउने वातावरण मिलाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।