हेटौँडाः सडक मर्मतका लागि ठेक्का सम्झौता भएर पनि २ वर्षदेखि काम सम्पन्न हुन नसकेको हेटौँडा–४, पारिजातपथमा कालोपत्रे गर्न सुरु भएको छ । मंगलबार शितलमहल चोकबाट उत्तरतर्फ कालोपत्रे गर्न सुरु गरिएको छ । स्थानीयले विरोध गरेर बाटो नै बन्द गरेपछि जनप्रतिनिधि र व्यवसायीले सडक मर्मतको काममा तदारुकता देखाएको थियो ।
सडक मर्मत गर्न सुरु गरेको निर्माण कम्पनिले उल्टै सडकमा खाल्डो मात्रै बनाएर मर्मतको काम नियमित नगरेको भन्दै स्थानीयले गत बुधबार बाटो नै छेकेका थिए । स्थानीयले विरोध गरेलगत्तै मर्मतको काम सुचारु भएको थियो । सडक मर्मतको कार्य सुचारु गरेको एक सातामै कालोपत्रे सुरु भएको हो । खाल्डाखुल्डी मर्मत गरेर पुरानो सडकमा ४ सेन्टिमिटर मोटाइको आसफाल्ट कालोपत्रे गर्न सुरु गरिएको हो । केही दिनमै मर्मतको काम सम्पन्न हुने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभएको छ ।
पारिजातपथको कभर्डहल चोकदेखि दक्षिणतर्फ शितलमहलचोकसम्म र पारिजातपथबाट पश्चिम नन्दस्थानरोडमा कालोपत्रे गरिने वडा अध्यक्ष सिग्देलले बताउनुभएको छ । यस्तै स्कूलरोडमा पनि आसफाल्ट ओभर–ले गरिनेछ । पारिजातपथकै ओम्याक्स सिनेमा अगाडिका खाल्डाखुल्डी पनि मर्मत गरिने वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभएको छ ।