हेटौंडाः हेटौंडास्थित ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्थापना केन्द्रले असहाय बालबालिकाको संरक्षणका लागि विभिन्न कार्यहरु गर्ने गरेको छ । संस्थाले दशैं सकिएलगत्तै मकवानपुर जिल्लाको ३६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक, स्वेटर, झोला, कपी, कलम, पेन्सिललगायत शैक्षिक सामग्री वितरण गरेको संस्थाका कार्यक्रम व्यवस्थापक केदार आचार्यले जानकारी दिनुभएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थी तथा अभिभावकको आर्थिक अवस्था कमजोर हुने भएकाले भौगोलिकरुपमा विकट ठाउँमा भएका विद्यालयहरुलाई बढी प्राथमिकतामा राखेर स्वेटरलगायतका सामग्रीहरु वितरण गरेको आचार्यले बताउनुभयो । साना बालबालिकाहरु पनि इट्टाभट्टामा काम गरिहेको देखिएकाले त्यस ठाउँहरुमा अलि बढी प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ । बालबालिकाको आर्थिक अवस्थाको मूल्यांकन गरेर त्यस्ता ठाउँको विद्यालयमा सामग्री सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
बागमती गाउँपालिकाको वडा नम्बर ९ मा वडा १,२,३,५,७ र ९ अलि विकट ठाउँ भएकाले त्यहाँको विद्यालमा वार्षिक कार्यक्रमअनुसार शैक्षिक सामग्री, पोशाकलगायत सामग्रीहरु वितरण गरेको छ । राक्सिराङ गाउँपालिकाको वडा नम्बर १, ४ र ९ मा पनि शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । यस्तै, बकैया गाउँपालिकाको वडा नम्बर ६, ७ र १० एवम् हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १३, १६ र १९ का विद्यालयका विद्यार्थीलाई पनि सहयोग गरिएको उहाँले बताउनुभयो ।
विद्यालयमार्फत् अभिभावकसँग समन्वय गरेर, विद्यालयमा विद्यार्थीको अवस्था बुझेर एवम् विद्यार्थीसँग विद्यालयको बारेमा बुझेर आवश्यक सामग्रीहरु वितरण गर्ने गरेको उहाँले बताउनुभयो । संस्थाले बालबालिकाको संरक्षण शिक्षालाई विशेष ध्यान दिएर काम गर्ने गरेको बताइएको छ । संस्थामा भएको बाल गृहमा २१ जना बालबालिका रहेका छन् ।
कक्षा १ देखि स्नातक तहका १ सय २५ विद्यार्थीहरुलाई आवश्यकताअनुसार पठनपाठनको व्यवस्था, होस्टेलमा पढ्न र खान निःशुल्क व्यवस्था गर्ने उहाँले बताउनुभयो । यो वर्षमा मकवानपुरको ३६ वटा विद्यालयको २ हजार २ सय ५२ जना विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको छ । राक्सिराङको विन्देश्वरी आधारधूत विद्यालय र बागमतीको अमर आधारभूत विद्यालयमा स्वेटर सामग्रीहरु बाँढ्न बाँकी रहेको उहाँले बताउनुभयो । यसवर्ष सरसफाइको कमी भएको विद्यालय खोजेर सचेतनामूलक कार्यक्रम आयोजना गर्ने बताउनुभयो । यस्तै, संस्थाले महिलाहरुलाई पनि ६ महिनाको निःशुल्क सिलाई तालिम दिने गरेको छ । २०६४ सालमा स्थापित यस संस्थाले बालबालिकाको संरक्षण, सुरक्षाको लागि विभिन्न प्रकारको कार्यहरु गर्दै आइरहेको छ ।