राष्ट्रिय पोशाक टोपी दिवशको ११औं वर्ष नेपाली पोशाक, पहिरन र पहिचानको निमित्त अन्तर्राष्ट्रियस्तरमा नेपालीहरुको राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै अभियानका रुपमा संचालन गर्दै मनाउँदै आइरहेको नेपालीहरुले आफ्नै पहिरन नेपाली टोपी शिरमा लगाएर मनाउन सकिने दिवशको रुपमा मनाउ ।

इतिहासः
सुन्नमा आएअनुसार नेपालमण्डल उपत्यकाका नेवारी समुदायमा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई “धाका“ भनिने रहेछ । नेवा समुदायको मौलिक पहिरन र प्राचिनकालदेखि नेपालमण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको टोपीलाई ढाका टोपी भनेर चिनिन थालेको हो । नेवा समुदाय नेपालमण्डल उपत्यका भन्दा बाहिर पूर्व–पश्चिमतिर बसोबास गर्न थालेपछि नेवा समुदायसँगै पाल्पाली र पुर्वेली ढाकाटोपी भनेर पहिचान बनाउँदै उत्कृष्ट टोपी हुन पुग्यो भनेर यदाकदा पढ्न पाइन्छ । त्यस्तै ढाका टोपीको “ढाका” शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर तर्क र विविध कोणबाट विचार विश्लेषण गरी बंगलादेशसँग ढाका टोपी जोडिएको हो भन्नेहरुलाई ढाका टोपी नितान्त नेपाली उत्पादन हो । टाउको ढाक्ने टोपी ढाकाटोपी नेपाली टोपी भनेर चिनिन्छ ।

नेपालीहरुले शिरमा लगाउने ढाकाटोपीलाई नेपालको चिनारीको रुपमा लिइन्छ र यसको आफ्नै मौलिक पहिचान र महत्व छ । नेपालमा शिरमा टोपी लगाउने चलन कहिले सुरुवात भयो भन्ने जानकारी कहिँ कतै लिखितरुपमा नभेटिए तापनि विभिन्न जाति वा समुदायले आआफ्नो प्रकारको टोपी परापूर्वकालदेखि शिरमा लगाउँदै आइरहेको इतिहासमा भेट्न सकिन्छ । तर राणाकालमा जंगबहादुर राणालाई खुसी पार्नका निमित्त बहिनीले ढाकाटोपी बनाएर उपहार दिएसँगै नेपाली टोपीको इतिहास जोडिएको छ ।

पहिचानः
ढाकाटोपीको चुच्चो परेको माथिल्लो भागले हिमाली भेग र बीचको भिरालो भाग पहाड र तलको भागले तराईको समथरलाई चिनाउने बुझाउने गरेको भेटिन्छ ।

नेपाली टोपी शिर छोप्न वा शिरको रक्षा गर्नका निम्ती चुलो र घेराहाली सिलाईको टोपीलाई नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नयाँ शब्दकोषमा समेत नेपाली टोपी भनी उल्लेख गरेको पाइन्छ । नेपालभरी चलनचल्तीमा आएको टोपीहरु सबै नेपाली टोपी हुन जस्तै भादगाउँले टोपी, नेपाली टोपी, आदिकवि भानुभक्तले लगाउने बिर्के टोपी अन्य समुदायहरुले शिरमा लगाउने आ–आफ्ना संस्कृति अनुसारका पहिरन टोपीहरु ।

नेपाली टोपीको साइनो नेपाली भुभागको मात्र नभई हजारौं वर्षदेखि नेपाली र नेपाली भाषी भएको कुनै पनि स्थानसँग नेपाली टोपी जोडिएको छ । नेपालको पहिचानको रुपमा ढाका टोपीलाई मौसम अनुसार, पर्व विशेषमा मात्र नभई ढाका टोपीलाई नेपालीको आत्मसम्मानको प्रतिकको रुपमा लिइन्छ । नेपाली ढाकाटोपीले शिरमात्र ढाकेको होइन समग्र नेपालीहरुको शिर विश्वसामु उच्च बनाइरहेको ढाकाटोपीको युवा पुस्तमा घट्दै गएको मोह र यसको महत्वलाई अघिल्लो पुस्ताले यसको महत्व र आजको यूवा पुस्ताले ढाकाटोपीको प्रयोगलाई बढाउँदै लग्यौ भने विश्वसामु नेपाल र नेपाली कला संस्कृतिको जगेर्ना हुन्थ्यो ।

नेपाल वा नेपाल बाहिर रहेका नेपालीमूलका नेपालीहरुबीच धर्म, जातजाति, भाषा, पोशाक, संस्कृति, रीतिरिवाज, पर्व र विविधता रहेको ऐतिहासिकतामा एकता पनि रहेको छ । नेपालीहरुको संस्कृतिमा दशैं मनाउनु, तिहारमा टिका लगाउनु, देउसी–भैलो खेल्नु, ल्होछार, इद, छठमा धर्म संस्कृति अनुसारको पोशाक लगाई मनाउने मध्ये नेपाली टोपी मात्र एउटा यस्तो पोशाक हो जुन सबै समुदायले सहजै प्रयोग गर्न सकिन्छ ।

बहुविचार, जाति, भाषा, धर्म, संस्कृति रहनसहनले भरिपूर्ण एक सुन्दर फुलबारीलाई राष्ट्रपिता पृथ्वीनारायण शाहले नेपालको भुगोल बुझेर नै होला नेपाल चार जात छत्तिस वर्णको फुलवारी भनी सम्वोधन गर्नुभएको हामीले इतिहासमा आज पनि पढ्दै आइरहेका छौं । हरेक देशमा विविधता आफ्नै किसिमका हुन्छन् । विविधता नभएको यो संसारमा कुनै पनि देश छैन । विविधतालाई स्वीकार गर्दै धेरै भन्दा धेरैले मनाउने पर्व राष्ट्रिय पर्व, सबै भन्दा धेरै चल्तीको पोशाक राष्ट्रिय पोशाक र सबै भन्दा धेरै बोलिने भाषा राष्ट्रिय भाषा हुनु संसारभरिको अन्तर्राष्ट्रिय मान्यता हो ।

अहिले सामाजिक सञ्जालमा यदाकदा पढ्न, हेर्न र सुन्न थालिएको छ, यो राष्ट्रिय पोशाक टोपी दिवश कसले किन गरिरहेको छ ? यो त प्रतिगामी सोच हो । अहिले चलाइएको यो पर्व विशेष जाति, धर्म र क्षेत्रको मात्र पोशाक हो । सम्पूर्ण नेपालीको होइन परापूर्वकालदेखि चलिआएको पर्व चलन होइन भनेर सामाजिक सञ्जालमा देखिन थालेको पनि छ ।

समग्रमा नेपाल राष्ट्रको पहिचान राष्ट्रिय पोशाक टोपी दिवशको पर्व जुन मनाइरहेका छौं त्यो सन् २०१३ नोभेम्वर २६ मा नेपाली टोपी दिवशको सामाजिक सञ्जाल पेज बनाई “नेपाली टोपी लगाऔं” भन्दै सन् २०१४ जनवरी १ मा पहिलो अन्तर्राष्ट्रिय टोपी दिवश भनेर सामाजिक सञ्जालमा आइसकेपछि त्यस यता सन् २०२४ सम्म आइपुग्दा धेरै भन्दा धेरैले यो दिवशलाई साथ दिई नेपाली टोपी लगाई सामाजिक सञ्जालमा पोष्ट गरी राख्नु भएका भेटिन्छ । अहिले आएर यो पर्व दिवशको रुपमा स्थापित भइसकेको छ र प्रत्येक वर्ष जनवरी १ मा मनाइनेछ र सम्पूर्ण नेपाली नेपालीभाषी समुदायमा यो दिवश राष्ट्रिय दिवशको रुपमा मनाउ भन्न चाहन्छु ।