हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार पालिकाका अध्यक्ष रञ्जन कालाखेतीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
गाउँपालिकाको आयोजना र राष्ट्रिय रोटरी माविको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो । मंगलबारसम्म चल्ने प्रतियोगितामा पालिकाभित्रका सामुदायिक र संस्थागत गरी १३ विद्यालय सहभागी छन् । प्रतियोगिताअन्तर्गत् एथलेटिक्स, कबड्डी र भलिबल खेलहरु सञ्चालन भइरहेको छ । यसअघि मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकाले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
प्रतियोतिगता उद्घाटन कार्यक्रममा पालिकाकी उपप्रमुख सीता पुलामी मगर, ३ नम्बर वडाध्यक्ष अनन्त प्रकाश अर्याल र वडा नम्बर–४ का वडाध्यक्ष प्रकाश थापाको आतिथ्य रहेको थियो ।