हेटौंडाः प्रजा आधारभूत विद्यालयले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । सोमबार विद्यालय परिसरमा परीक्षमा उत्कृष्ट अंक ल्याई प्रथम हुने कक्षा १ देखि ८ सम्मका ८ जना विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर बढाउने उद्देश्यले यस वर्षदेखि विद्यालयले प्रथम र द्वितीय त्रैमासिक परीक्षामा राम्रो अंक ल्याई प्रथम हुने विद्यार्थीलाई पुरस्कार दिने व्यवस्था गरेको प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चेपाङको सभाध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष कर्णबहादुर घलानको प्रमुख आतिथ्य थियो ।

हाल ३ सय ३२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा पहिलो त्रैमासिक परीक्षामा ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने दोस्रो त्रैमासिक परीक्षामा ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो ।