नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाले आजभन्दा ४८ वर्षअघि राष्ट्रिय मेलमिलापकोनीति अघि सारेका थिए । पञ्चायती शासकले देश निकाला गरेका कारण भारतमा रहेका वीपी कोइराला २०३३ साल पुस १६ गते निर्वासित जीवन त्यागेर भारतबाट मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । सोही दिनको स्मरणमा नेपाली कांग्रेस तथा यसका भातृ संगठनहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । तत्कालीन समयमा देशको राजनीतिक अवस्था कमजोर बन्दै गएको महसुस गरी वीपी कोइरालाले सबैखाले राजनीतिक एवम् व्यक्तिगत जोखिमलाई पर्वाह नगरी स्वदेश फर्किका हुन् । देशको अस्तित्व संकटमा परेको भन्दै राष्ट्रिय एकता र मेलमिलापको प्रस्ताव राख्दै राजनीतिक सहयात्री गणेशमान सिंहका साथ दर्जनौं कार्यकर्तासहित वीपी भारत स्वनिर्वासनलाई परित्याग गर्दै स्वदेश फर्केका थिए ।
वीपी कोइरालाले तत्कालीन अवस्थामा जोबाट देशको अस्तित्व संकटमा परेको महसुस गरेका थिए अहिले त्यसको अस्तित्व छैन । पञ्चायती शासन कालमा राजनीतिक दलहरुमाथि प्रतिबन्ध लागेको थियो । त्यसबेला राजनीतिक दलहरुको शासन सत्तामा कुनै भूमिका थिएन । राजा र पञ्चायती शासककै शासन सत्तामा हालीमुहाली थियो । अहिले राजनीति र व्यवस्था दुबै परिवर्तन भइसकेको छ । देशमा राजतन्त्र अन्त्य भएर संघीय गणतन्त्र स्थापना भइसकेको छ । तर, वीपीले त्यसबेला महसुस गरेको संकट अहिले पनि उस्तै छ । तत्कालीन समयमा देशी, विदेशी शक्तिकेन्द्रका कारण मुलुकको अस्तित्व संकटमा परेको भन्दै वीपीले मेलमिलापको नीति अघि सार्दै भारतबाट नेपाल आएकोमा अहिले पनि देशको शासन व्यवस्थामा देशी, विदेशी शक्तिकेन्द्रकै वर्चश्व देखिने गरेको छ । त्यतिमात्र नभई अहिले देशका युवाशक्तिले देशमा कुनै भविष्य नदेखेर विदेश पलायन हुने क्रम बढ्दै गएको छ ।
उच्च शिक्षा हासिल गर्नेदेखि वैदेशिक रोजगारीमा जाने बहानामा दिनहुँ विदेशिने युवाहरुको लर्को लाग्ने गरेको छ । यसले वीपीको राष्ट्रिय एकता र मेलमिलाप नीति उत्तिकै सान्दर्भिक र आवश्यक बनेको छ । आइतबार बीपी समाज मकवानपुरले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको ‘युवा जनशक्तिको सुनिश्चित भविष्यको लागि राजनैतिक दलहरुको भूमिका’ विषयक गोष्ठीका वक्ताहरुले युवालाई देशप्रति आशा र भरोसा जगाउन नसकेको बताएका छन् । युवाहरुबीच मेलमिलाप गरेर नै मुलुक बनाउन सकिने भन्दै अहिलेको राजनीतिले देशका युवा र जनतालाई सन्तुष्टी दिन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । मुलुकमा पश्चिमी देशहरुले बनाएको नीतिलाई नै कपीपेष्ट गर्दा युवामैत्री नीति बन्न नसकेका कारण युवा स्वदेशमा बस्न नचाहेको बताइएको छ । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि जनता र युवाहरुको चाहना पूरा हुन सकेको छैन ।
मुलुकमा काम गर्ने वातावरण नभएको भन्दै विदेशिइरहेका युवालाई देशभित्र राखेर आर्थिक क्रियाकलापमा संलग्न गराउन एकता र मेलमिलाप दिवसमा औपचारिक कार्यक्रममात्र गरेर हुँदैन । मुलुकमा युवाहरुलाई आकर्षित गर्ने खालको नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय सहमति बन्नु आवश्यक छ । करिब ३ दशकदेखि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत राजनीतिक दलहरुले देशको शासन सत्ताको नेतृत्व गरिरहेकाले देशले भोगिरहेको सबै समस्याको जिम्मेवारी तिनै राजनीतिक दलहरुले लिनुपर्छ । महत्वाकांक्षी भाषणभन्दा युवाहरुलाई उत्पादनसँग जोड्ने खालका कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ । युवाहरु रोजगारी र शिक्षाका लागि विदेशिने क्रमलाई रोक्नुपर्छ । मुलुकका राजनीतिक दल तथा तिनका नेतृत्वले गरेको भुल र खेलवाडको मूल्यांकन इतिहासमा हुने नै छ । तर वर्तमानको खाँचो भनेको विगतका गलत परिपाटीलाई सच्याएर युवाले विश्वास र भरोसा गर्नसक्ने वातावरण तयार पार्न राजनीतिक दलहरु गम्भीर बन्नु आवश्यक छ ।