हेटौंडाः हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
प्रतियोगितामा हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि प्रथम भएको छ । ९ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित जनप्रिय मावि प्रथम हुन सफल भएको हो । प्रतियोगितामा हेटौंडा–९ स्थित प्रगति मावि द्वितीय भएको छ । प्रगति माविले ९ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ । समान ४ स्वर्ण, २ रजत र २ कास्यसहित हेटौंडा–१८ स्थित ज्योति मावि र हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि तेस्रो स्थानमा रहेको छ ।
हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि आयोजक विद्यालयको रुपमा रहेको थियो । प्रतियोगितामा उपमहानगरपालिकाको १९ वटा वडाका ३७ वटा विद्यालयबाट करिब ६ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कराँतेमा पुरुषतर्फ ४२ केजी समूहबाट भूटनदेवी माविका कपिला डिम्डुङ प्रथम, बाल उज्ज्वल माविका शिखर रुम्बा द्वितीय, बंशगोपाल माविका धनराज भोम्जन र त्रिभुवन माविका आयुष प्रजा तृतीय भएका छन् । ४७ केजी समूहबाट बाल उज्ज्वलका साजन थिङ प्रथम, प्रशान्त बानियाँ द्वितीय, सिद्धार्थ माविका दिनेश महतो र बाल उज्ज्वलकै विराज तितुङ तृतीय भएका छन् । ५२ केजी समूहबाट महेन्द्र माविका रोहित रुम्बा प्रथम, आधुनिक राष्ट्रिय माविका विकास राई द्वितीय, जेम्स बोर्डिङका सदरक तामाङ र त्रिभुवन माविका सञ्जीव लोप्चन तृतीय भएका छन् । ६२ केजी समूहबाट यश नेपाल प्रथम र समिर मगर द्वितीय भएका छन् । कातातर्फ वंशगोपालका दिप्सन लामा र धनराज भोम्जन द्वितीय भएका छन् ।
महिलातर्फको ४० केजी समूहबाट बंशगोपालका प्रेरुमा राई प्रथम, नवोदयका समिना राई द्वितीय र आयुषा भोलन तृतीय भएका छन् । ४५ केजी समूहबाट सुरुक्षा मैनाली प्रथम, बाल उज्ज्वलका शर्मिला रुम्बा द्वितीय, तुलसीमेहरका रेश्मा कार्की र त्रिभुवन माविका स्वाइस्का प्रधान तृतीय भएका छन् । ५० केजी समूहमा बाल उज्ज्वलका पाल्साङ भोम्जन प्रथम, जनप्रियका मञ्जु नेगी द्वितीय, वंशगोपालका रेनुका रावल र अंकिता श्रेष्ठ तृतीय भएका छन् । ६० केजी समूहमा बंशगोपालका सुशीला श्रेष्ठ प्रथम, बाल उज्वलका लक्ष्मी पाख्रिन द्वितीय भएका छन् । कातातर्फ चुरियामाइ माविकी रोशनी प्रथम, रेनुका रावल द्वितीय र सुशीला श्रेष्ठ तृतीय भएका छन् । नेपाल सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपकबहादुर तामाङले कराँते खेलमा प्रथम, द्वितीय, तृतीय हुने खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गनुभएको थियो ।
प्रतियोगिताअन्तर्गत् उसुमा नाङछ्वाङ खानछ्वाङ तानछ्वाङ विधाको महिलातर्फ जेनिसा मोक्तान र पुरुषतर्फ अनन्त थिङ प्रथम भएका छन् । यस्तै, छवाङ विधातर्फ आमसाईका छात्र सरोज वसन्ते र प्रगति माविका शासन थिङ प्रथम भएका छन् । ताइची छवाइ विधाबाट नवोदय बोर्डिङकी छात्रा अविस्मा पाठक र प्रगति माविका शीतल थिङ प्रथम भएका छन् । यस्तै, ४२ केजीमा अमर माविका अनिल केसी र आधुनिक माविका रितिका शर्मा प्रथम भएका छन् । ४५ केजी समूहबाट आधुनिकका दीपेश र मनिसा बिक प्रथम भएका छन् । ४८ केजी समूहबाट प्रगति माविका सुनिता भोम्जन र विशेष थापा प्रथम भएका छन् ।
तेक्वान्दो प्रतियोगितामा जनज्योति तेक्वान्दो डोजाङ ४ स्वर्णसहित प्रथम, आधुनिक २ स्वर्णसहित द्वितीय र जनप्रिय १ स्वर्ण तथा ३ रजत पदक प्राप्त गर्दै तेस्रो भएको तेक्वान्दो प्रशिक्षक दीलिप राजथलाले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीहरुले जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समिति अध्यक्ष समिम खानको प्रमुख आतिथ्य तथा प्रधानाध्यापक रामसागर गुरागाईंको सभाध्यक्षतामा पुरस्कार वितरण भएको थियो । कार्यक्रममा नेपाल सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपकबहादुर तामाङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, कराँते प्रशिक्षक विष्णुभक्त लामा, नरेन्द्र श्रेष्ठ, उसु प्रशिक्षक विमल थापा मगरलगायत विभिन्न खेलकुदका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।