गुगल तस्विर ।

हेटौंडाः सिन्धुपाल्चोक र रसुवा जिल्लामा भएका विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ मा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्लाका घर भई हाल सिन्धुपाल्चोकमा बसोबास गर्ने ५५ वर्षीय तेज बहादुर रहेको प्रहरीले जानकारी दिएको छ ।

बहादुर सोमबार अचानक विरामी हुँदा स्थानीय र जनप्रतिनिधी समेतले उपचारका लागि मेलम्ची नगर अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार बिहान ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, रसुवा जिल्लाको कालिका गाउँपालिका–५ ज्याङलाङमा सुख्खा पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१२, हाईडाँडाका २० वर्षीय आरुष थिङ रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा जिबजिबेबाट ज्याङलाङ जाने भित्री कच्ची सडकखण्डमा काम गरिरहेका थिङ गाह्रो लगाउनेक्रममा माथिबाट सुख्खा पहिरो आई पुरिँदा घाइते भएका थिए । घाइते थिङलाई उपचारका लागि ग्रामीण अस्पताल जिबजिबे लगिएकोमा ३ बजेर २२ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६, ब्राबल जंगलको भिरमा एकजना मृत फेला परेका छन् । मृत फेला पर्नेमा धुन्चेका २१ वर्षीय साजन बिक रहेको प्रहरीले जानकारी दिएको छ । बिक मंसिर १८ गते रातीबाट हराएकोमा आफन्तहरुले खोजतलास गर्ने क्रममा बुधबार साँझ ५ बजेर २० मिनेटको समयमा ब्राबल जंगलको भिरमा मृत अवस्थामा फेला परेको प्रहरी जानकारी दिएको छ ।