सडक मर्मतको कार्य गरिँदै ।

हेटौँडाः स्थानीयको दबावपछि हेटौँडा–४, पारिजातपथ सडक मर्मतको कार्य सुरु भएको छ । निर्माण कम्पनिले सम्झौताअनुसार काम सम्पन्न गर्नुपर्ने म्याद गुज्रिसक्दा पनि मर्मतको काम पूरा हुन नसकेपछि स्थानीयले दबावस्वरुप बुधबार बिहान पारिजातपथको बाटो बन्द गरेका थिए । स्थानीयले बाटो बन्द गरेलगत्तै पारिजातपथ पुग्नुभएका वडा अध्यक्ष नवीन सिग्देलले मर्मतको कार्य तत्काल सुरु हुने जनाउनुभएको थियो ।

सडक मर्मतको काम नियमित गरी छिटो सक्न दबावस्वरुप बाटो बन्दै गर्दै स्थानीय ।

बुधबार बिहानैदेखि पारिजातपथमा सडक मर्मतको कार्य सुरु भएको छ । सडक बोर्ड नेपालसँगको साझेदारीमा हेटौँडा उपमहानगरपालिकाले निजी निर्माण कम्पनिमार्फत मर्मतको प्रक्रिया सुरु गरेको थियो । गत आर्थिक वर्षमै सक्नुपर्ने योजनाको मंसिर मसान्तसम्म म्याद थपिएको थियो । मंसिर मसान्तसम्म पनि निर्माण कम्पनिले काम सम्पन्न गर्न सकेन । निर्माण कम्पनिले मंसिर २८ गतेदेखि सडक मर्मतको काम सुरु गरे पनि मर्मतको काम नियमित हुन सकेको थिएन ।

गत मंसिर २८ गते सडक मर्मतका लागि सडकमा क्षति पुगेको खाल्डो मर्मतका लागि खनिँदै ।

खाल्डाखुल्डी भएको सडक मर्मतका लागि निर्माण कम्पनिले खाल्डो खनेर छाडे पनि खाल्डोमा बेस हाल्ने काम नगरेपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले अन्ततः बुधबार बिहान बाटो नै बन्द गरेर उपमहानगरपालिकालाई दबाव दिएको थियो । स्थानीयको दबावपछि मर्मतको कार्य सुरु भएको हो ।