हेटौंडाः बारा जिल्लास्थित एक नीजि विद्यालयका शिक्षक हत्या प्रकरणमा संलग्न भारतीय सुटरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाका ३२ वर्षीय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
मंगलबार राति ८ बजेर ४५ मिनेटको समयमा सिंह लगायतका व्यक्तिहरू हतियारसहित नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको टोलीले सुरक्षाजाँच गर्ने क्रममा बाराको विश्रामपुर गाउँपालिका–३ बाट सिंहलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई रोकेर नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि गोली प्रहार गरी आक्रमण गर्न खोजेको र जवाफी फायरमा सिंहलाई घुडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ । सिंहको साथबाट १ थान घरेलु हतियार, फायर भएको गोलीको खोका १ थान र गोली बरामद भएको जनाएको छ । गत असोज १३ गते बारा जिल्लास्थित कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको थियो । सिंह विगत ५ वर्षदेखि बारा र रौतहटमा घटेका विभिन्न घटनामा गोली हानी हत्या गर्ने सुटर रहेको प्रहरीले जनाएको छ ।