नागरिकता वितरण गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत सरोज पौडेल ।

हेटौँडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकारीले मानसिक एवम् शारीरिक अपाङ्गता भएका एक नागरिकलाई घरमै पुगेर नागरिकता वितरण गरेको छ । शारीरिक एवम् मानसिकरुपमा अपाङ्गता भएका मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ का १७ वर्षीय नीरबहादुर जिम्बालाई शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेल नेतृत्वको टोलीले नागरिक प्रदान गर्नुभएको हो ।

नागरिकता प्राप्तिको प्रक्रियामा निवेदकको सनाखत गर्ने मदनकुमार श्रेष्ठ, निवेदन पेश गर्ने अश्विन अर्याल र सदर गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेल बागमती गाउँपालिका–४ स्थित जिम्बाको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता वितरण गरिएको हो । नागरिकता प्राप्त गर्ने व्यक्तिको हस्ताक्षर र ल्याप्चे लगाउने प्रक्रिया पूरा गरी नागरिकता वितरण गरिएको हो ।

नागरिकता माग गर्नुहुने जिम्बाको सनाखत गर्नुहुँदै मदन कुमार श्रेष्ठ ।

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सक्ने अवस्था नभएको भन्ने जानकारीपछि प्रशासनका अधिकारीले घरमै पुगेर सेवा दिएको हो । तीन महिनाअघि मकवानपुरको थाहा नगरपालिकाबाट नागरिकता लिन आएका अपाङ्गता भएका व्यक्ति र उनका परिवारले भोग्नु परेको सास्ती देखेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गर्ने व्यवस्था मिलाउन मातहतका कर्मचारीलाई आग्रह गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी सेडाईको आग्रहपछि यसअघि प्रशासनका अधिकारीले मकवानपुरगढी गाउँपालिकाका एक अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको थियो । नागरिकता प्राप्तिका लागि आवश्यक कागजात परिवारका अन्य सदस्यले तयार पारेपछि वितरण गर्न भने प्रशासनका अधिकारी अपाङ्गता भएका व्यक्तिको घरमै जाने व्यवस्था गरिएको हो । यसले सेवाग्राहीमैत्री सेवा प्रवाह हुने प्रशासन कार्यालयको विश्वास छ । अपाङ्गता भएका व्यक्तिलाई नागरिकता वितरणका लागि सहजीकरण गरिदिन वडा अध्यक्षले आवश्यक अग्रसरता देखाउने गरेका छन् ।

अहिले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा थाहा नगरपालिकाका एकजना र भीमफेदी गाउँपालिकाका एकजना अपाङ्गता भएका व्यक्तिले घरमै नागरिकता प्राप्तिका लागि अनौपचारिक जानकारी गराएको र आवश्यक कागजात पूरा गर्ने प्रक्रियामा रहेको प्रशासकीय अधिकृत पौडेलले बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिले नागरिकता पाएसँगै सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने अवसर रहनेछ । पछिल्लो समय सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन अपाङ्गता भएका व्यक्तिले नागरिकताको प्रमाणपत्र अनिवार्यरुपमा पेश गर्नुपर्ने भन्ने व्यवस्था भएपछि नागरिकता बनाउन सुरु भएको छ ।