हेटौँडाः हेटौँडा–७ स्थित न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले समुहको प्रगति प्रतिवेदन, सचिव शान्ति तिमल्सिनाले समुहको कार्यप्रगतिको प्रतिवेदन र कोषाध्यक्ष तेजप्रसाद मैनालीले समुहको आय–व्ययसहितको १४ लाख ६६ हजार रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समुहले वन संरक्षणको लागि सञ्चारमाध्यमबाट सहयोग पुर्याउँदै आएको भन्दै पत्रकार पुष्पराज अधिकारीलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । यस्तै सव–डिभिजन वन रातोमाटेका फरेस्टर यदु प्रसाद घिमिरे, ज्येष्ठ नागरिकतर्फ उपभोक्ता रेमलाल गौतम र डेवकुमारी पोखरेल, कृषि तथा पशुपालनतर्फ सुमित्रा उपाध्यायलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष दामोदर गौतमले समुहले वन संरक्षण र उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने कार्यमा उल्लेखनीय कार्य गरेको भन्दै समुहलाई आवश्यक अन्य भौतिक तथा आर्थिक सहायता वडा कार्यालयले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय हेटौँडाका अधिकृत वसन्त राज गौतमले वन संरक्षण र विद्यमान नीति नियमको बारेमा प्रष्ट पार्नुभयो । यस्तै सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले समुहको सिमानामा अग्निरेखा निर्माणका लागि महासंघले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले अस्मिताले समुहका उपभोक्तालाई दुना टपरी बनाउने तालिम प्रदान गरी मेसिन पनि उपलब्ध गराएको भन्दै आगामी वर्ष समुहले उक्त मेसिन संचालनमा ल्याउँदै आफ्ना उपभोक्तालाई उद्यमी बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरे, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समूहले विपन्न वर्ग उत्थान कार्यक्रमका लागि २ लाखको घुम्ती कोष बनाई हरेक वर्ष आफ्ना विपन्न उपभोक्ताहरुलाई २० हजारको आर्थिक सहायता गरी उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउँदै आएको छ । वन संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै समुहले ४ पटक जिल्लास्तरीय वन संरक्षण पुरस्कार र सर्वमान्य गणेशमान सिंह वन संरक्षण पुरस्कार २०७३ तृतीय बाट समेत सम्मानित भएको थियो ।
दुइ सय ८७ घरधुरी र ७१.१२ हेक्टर क्षेत्रफल रहेको वनको पूर्वमा हेटौँडा–६ को रानी वन र पश्चिममा हेटौँडा–५ को पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूह रहेको छ । यसैगरी शनिबार भएको समुहको अधिवेशनले प्रकाश कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।