हेटौंडाः स्वास्थ्य बीमा बोर्डले ३ महिनाको लागि निःशुल्क औषधी दिने भएको छ । मंसिर २७ गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकबाट बोर्डले ३ महिनाको लागि औषधी दिने निर्णय गरेको हो ।

स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक स्वास्थ्य संस्थाहरुलाई निर्देशन जारी गर्दै नियमित औषधी सेवन गरिरहेका सेवाग्राहीलाई बीमामार्फत् ३ महिनालाई पुग्ने औषधी दिन आग्रह गरेको छ । नियमित औषधी सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकहरुलाई एक महिनाका लागि दिइरहेको औषधी अबदेखि ३ महिनाका लागि दिने व्यवस्था बोर्डले मिलाएको उल्लेख छ ।

बैठकले रिफर लिएर स्वास्थ्य जाँच गरी फलोअपमा आउने बिरामीलाई पुनः रिफर नचाहिने निर्णय गरेको छ । एक पटक रिफर भई आएका बिमित बिरामीहरु सोही रोगको जाँचका लागि दोहोर्याएर आउँदा पुनः रिफर लेटर (प्रेषण पुर्जी) लिन नपर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।