जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको मंसिर २३ गते शनिबार सम्पन्न १८ औं वार्षिक साधारणसभाबाट कल्पना श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ । कोभिड–१९ महामारी, आर्थिक मन्दी, देशभर सहकारीका बेथिति सार्वजनिक भइरहँदा मकवानपुरका सहकारीमा तुलनात्मक रुपमा राम्रो अभ्यास भइरहेको देख्न सकिन्छ । बचत तथा ऋण सहकारी संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी कल्पना श्रेष्ठसँग हाम्री संवाददाता सुमिना चौलागाईले गर्नु भएको कुराकानीको सम्पादित अंशः
समाजः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको दोस्रो कार्यकालको अध्यक्षमा निर्वाचित हुनुभएको छ पहिलो कार्यकाल कस्तो रह्यो ?
श्रेष्ठः वातावरणको हिसाबले कोभिड–१९ महामारी, आर्थिक मन्दी भएको बेलामा पनि काम गर्न सक्ने खालको ४ वर्षे कार्यकाल रह्यो ।
समाजः अध्यक्षमा पुनःनिर्वाचित हुनु भयो । के कस्ता कामले पुनः निर्वाचित हुनुभयो भन्ने लाग्छ ?
श्रेष्ठः अप्ठ्यारो परिस्थितिमा पनि सम्हाल्न सक्ने, संघको निर्माणाधिन भवनको निर्माणको कामलाई राम्रो तहमा पुर्याउन सक्ने र कामलाई निरन्तरता दिने हिसाबले पुनः निर्वाचित भएँ । सदस्यको मन जित्न सकेँ भन्ने लागेको छ ।
समाजः सहकारीमा निक्कै समस्या छ भन्ने हल्ला छ । मकवानपुरका सहकारीको अवस्था कस्तो देख्नुहुन्छ ?
श्रेष्ठः सहकारी समस्यामा अहिले मिडियाबाजी, चर्चा–परिचर्चा बढी भइरहेको छ । सहकारीको व्यवसाय, व्यक्तिगत व्यवसाय र कम्पनीले गर्ने व्यवसाय फरक–फरक किसिमको भएर व्यवसाय नचिन्नाले सहकारीमा समस्या आएको हो । मकवानपुर जिल्लाको सहकारीमा धेरै समस्या त छैनन् । समस्या देखिएको ठाउँहरुमा पनि जिल्ला बचत संघले अनुसन्धान गरी सल्लाह सुझाव दिएर समस्या समाधान गर्नेतर्फ काम गरिरहेका छौं ।
समाजः पहिलेको सहकारीको अवस्था र अहिलेको अवस्था कस्तो रहेको छ ।
श्रेष्ठः आर्थिक मन्दीले र कोभिड–१९ महामारीले व्यवसाय धरासायी भएको कारणले केही मात्रामा समस्या आएको छ । दुग्ध क्षेत्रमा लगानी गरेको ठाउँमा एकातर्फ मिल्क होलिडे छ भने अर्कोतर्फ किसानले बिक्री भएको दुधको पनि भुक्तानी नपाएको अवस्था छ । समयमै भुक्तानी नपाउँदा किसानको ऋणको भाका नाघेको छ ।
समाजः जिल्लाभरको सहकारीमा पहिलेको तुलनामा आर्थिक कारोबार कस्तो छ ?
श्रेष्ठः आर्थिक कारोबार मन्दीले र कोभिड–१९ महामारीका बीच पनि टिक्न सकिएको छ । भाग्नु पर्ने स्थिति आएको छैन ।
समाजः पहिलो कार्यकालको तुलना दोस्रो कार्यकालमा तपाईँले कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
श्रेष्ठः पहिलेको भन्दा फरक हुन्छ भन्ने अवस्था छैन । जे छ त्यसलाई निरन्तरता दिने । सहकारी मूल्य, मान्यता, सिद्धान्त, विधिहरु, पक्षहरु र ऐन कानुनलाई फलो गरेर लाने र ऐन कानुनमा तोकिएका कुराहरुलाई वकालत पैरवीको माध्यमबाट नेपाल सरकारलाई घच्घचाएर लाने छौं ।