मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समूह ।

हेटौँडाः मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा भोलि बिहिबारबाट सुरु हुन लागेको खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा भएको छ । बुधबार हेटौँडा–१० स्थित टिसिएनचौरमा आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पूरा भएको जानकारी दिएको हो ।

खेलकुदको विकास, विस्तार संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागेको महोत्सव संचालनका लागि हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमतिमा प्राप्त भएको जनाएको छ । महोत्सव उद्घाटन सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको सहभागितामा र्याली गरिने पनि आयोजक समितिले जनाएको छ । हेटौंडा–१० स्थित टिसिएन चौरमा हुन लागेको बृहत खेलकुद तथा व्यापार महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुनेछ । महोत्सवमा खेलकुद प्रतियोगिताको साथसाथै विभिन्न कलाकारहरुको गायन, नृत्य हास्यव्यङ्ग्य पनि प्रस्तुत गरिने छ ।

महोत्सव खेलतर्फ एथ्लेटिक्स भोलि बिहिबार, व्याड्मिन्टन शुक्रबार, नेपाल तेक्वान्दो शनिबार, फुटबल आइतबार, राष्ट्रिय तेक्वान्दो सोमबार, क्योकोशिन कराँते मंगलबार, सितोरियो कराँते बुधबार, आइटिएफ बिहिबार, भलिबल हुप्रचौरमा १३, १४, १५ र १६ गते, राष्ट्रियस्तरको हकी १२, १३ र १४ गते क्याम्पा रंगशालामा, उसु १२ र १३ गते कबड्डी १७ गते र रेशलिङ १३ गते गरी १३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की, कार्यालय प्रमुख माधव कोइराला, नेपाल सितोरियो कराँते संघ मकवानपुरको अध्यक्ष दीपक बहादुर तामाङ, बक्सिङ प्रशिक्षक लाला पौडेल, उसु प्रशिक्षक विमल थापा मगर विभिन्न खेलकुदको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।