मोबाइल पत्रकारिता तालिम सम्पन्न भएपछी सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले आयोजना गरेको मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रदेशभित्रका पत्रकारहरुलाई लक्षित गरेर मंगलबारबाट रामेछापको मन्थलीमा सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईले अहिले सञ्चारको क्षेत्रमा मोबाइल पत्रकारिताको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रविधिको सही सदुपयोग गर्दै पत्रकारितालाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समयमा प्रविधिको दुरुपयोग भइरहेको बताउनुहुँदै उहाँले यसप्रति सञ्चारकर्मी सचेत हुनुपर्ने बताउनुभयो ।

सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाले सूचना प्रविधि आजको आवश्यकता भएकोे बताउनुभयो । बागमती प्रदेशले प्रदेशभित्रका पत्रकारहरुको समाचार लेखन र वाचनशैलीलाई गुणस्तरीय बनाउने उद्देश्यले विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो । उहाँले पत्रकारितालाई गुणस्तरीय बनाउन पत्रकार आफैंले मिहिनेत गनुपर्ने बताउनुभयो । सञ्चार रजिष्ट्रार कार्यालयले आगामी हिउँदे अधिवेशनमा मौलिक चलचित्र निर्माण गर्ने कार्यविधि स्वीकृतिको चरणमा रहेको बताउनुभयो । चलचित्रमा प्रदेशको मौलिकता झल्किने खालको दृश्यहरु समावेश गरिने उहाँले बताउनुभयो । उहाँले पत्रकारिता गर्न इच्छुकहरुलाई तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो ।

तालिममा फोटो प्रशिक्षकहरु विकास कार्की र नसना बज्राचार्यले फोटो र भिडियो खिच्न र इडिट गर्नेबारे प्रशिक्षण दिनुभएको थियो । तालिममा मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुली, दोलखा, भक्तपुर र सिन्धुपाल्चोकका २३ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।