हेटौंडाः बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले भएका स्रोत साधनलाई सही ढङ्गबाट सदुपयोग गर्न नसकेको बताउनुभएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० ले आयोजना गरेको घरेलु उत्पादन, कृषि उपज प्रदर्शनी मेला तथा सांस्कृतिक नृत्य प्रतियोगितालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वमुख्यमन्त्री पौडेलले अहिले सरकारले उत्पादन भएका वस्तुहरुको बिक्रीका लागि बजारको ग्यारेन्टी गर्न नसक्दा कृषकहरु मारमा परेको बताउनुभयो । देशको राष्ट्रिय नीति कमजोर हुँदा सबै क्षेत्र पछि परेको उहाँले बताउनुभयो । सरकारी तहबाट नै उद्यमीहरुले उत्पादन गरेको वस्तुहरुको प्रयोग गर्न सुरु गरेर उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

मकवानपुरको चिनारी काठको ठेकी भएकाले उद्यमीहरुले यसको उत्पादन गर्नुपर्ने उहाँको भनाइ छ । अहिलेको सरकारले सीपको विकास तथा अन्य पक्षको विकासका कार्य गर्न नसकेको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उक्त कार्यक्रममा सहभागी नभएपछि उहाँले स्थानीय सरकार यसप्रति जिम्मेवार नबनेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले उद्यमीहरुले आफ्नो सीपलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उद्यमीहरुले आफ्नो सीपलाई अगाडि नबढाउँदा र सरकारले यसप्रति ध्यान नदिँदा अहिले सबै वस्तुमा परनिर्भर हुन बाध्य भएको पाठकले बताउनुभयो । सरकारले उद्यमीहरुलाई हौसला बढाएर उत्पादनसँग जोड्नुपर्ने उहाँको भनाइ छ । उत्पादनसँग जोडेपछि रोजगारी सिर्जना हुने र युवाहरु विदेश पलायन हुनुपर्ने अवस्था हट्दै जाने उहाँले बताउनुभयो ।

मेलाको अवसरमा वडाले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ज्ञानदा माविकी जेनुका यादव र सपना ग्लेनलाई नगदसहित सम्मान गरेको छ । यस्तै वडाले कुशल कलाकारिता सम्मानबाट आशाकाजी श्रेष्ठ र लोकगायक सोमबहादुर घलानलाई नगदसहित सम्मान गरेको छ । मेलामा ३० स्टलमा टोल विकास समिति, आमा समूह र उद्यमी समूहले उत्पादन गरेको सामग्रीहरु राखिएको छ ।

हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबहादुर महतलगायत विभिन्न टोल विकास समितिका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।