हेटौंडाः माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनाताले सबै दल मिलेर काम गर्न मत दिएको बताउनुभएको छ । जनतासँग माओवादी विशेष अभियानअन्तर्गत् हेटौंडा आइपुग्नुभएका पुनले सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।
वर्तमान अवस्थामा पहिलो र दोस्रो पार्टी मिलेमात्र दुई दलको सरकार बन्ने नत्र ४–५ वटा दल मिलेर सरकार बन्ने भएकाले जनताले मिलेर काम गर्न भोट हालेको बताउनुभयो । वर्तमान अवस्थामा दलहरुको राजनीतिक संस्कार विकास गर्न नसकेको भन्दै पुनले संस्कारको विकास आवश्यक रहेको बताउनुभयो । पार्टी जनातामा जान र जनतासँग भेट्न जरुरी रहेको उहाँको भनाइ छ ।
पुनले सत्तारुढ पार्टीले जनताको आवाजलाई सरकारसम्म पुर्याउने, सरकारका काम कारबाही र सीमाहरुलाई जनताको बिचमा पुर्याउने लोकतान्त्रिक प्रक्रिया भएको बताउनुभयो । सरकारको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्रले सरकारको काम जनतामा पुर्याउने र जनताको समस्या सरकारसमक्ष पुर्याउने काम गरेको उहाँको भनाइ छ । पार्टीको रुपान्तरण, सदृढीकरण अभियान चौथो महिना चलेको र आगामी पुस १६ गते कार्यक्रमको अन्त्य गरिने उहाँले जानकारी दिनुभयो ।
पार्टीले अभियानको क्रममा समाजमा जनसेवाको काम, विकास निर्माणको काम गर्दै जनतासँग जोडिने काम गर्दै आएको बताउनुभयो । पार्टी सञ्चालनको रुपमा भएका त्रुटीलाई सच्याउँदै, सुधार गर्दै पार्टीलाई जनताको निगरानीमा राख्ने र नेता कार्यकर्ताहरु जनतासमक्ष पुग्ने काम भइरहेको उहाँले बताउनुभयो । अभियानअन्तर्गत् पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ प्रदेशका ७ वडामा पुग्ने भनिएकोमा ६ वटा प्रदेशका वडामा पुगेको जानकारी गराउँदै कोशी प्रदेशमा पुग्न बाँकी रहेको बताउनुभयो ।
पार्टीका नेता कार्यकर्ता जनतासँग अन्तरक्रिया गर्दै विधिवतरुपमा सुधारको अभियानमा लागेको उहाँले बताउनुभयो । अभियानपश्चात् विधान सम्मेलन गरी वर्तमान सापेक्षित पार्टी निर्माण गर्ने धारणा व्यक्त गर्दै पुनले जनवर्गीय, पेसागत संगठन बनाउने माइलस्टोन रहेको बताउनुभयो । संगठन विस्तारपश्चात् सम्मेलन गरी वैचारिक बहसबाट समाजवादको नेपाली बाटो खोजिने उहाँको भनाइ छ ।
वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको एजेण्डा बोकेकोमा पहिलो काम सुशासन कायम गर्न खोजेको तर घेराबन्दी गरी रोक्ने काम भइरहेको बताउनुभयो । संघीयतापश्चात् स्थानीय सरकारले कार्य गर्दै आएको भए पनि प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रदेश निजामती ऐन प्रदेश सरकालाई प्रचण्ड सरकारमा आएपछि दिएको बताउनुभयो । संघीय सरकारमा ऐन, कानुन संशोधनको प्रक्रियामा रहेको र सरकारले प्रहरी समायोजन प्रदेशमा गर्ने बताउनुभयो ।