हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक तालिकाअनुसार बस्न सकेको छैन । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा एक पटक पनि कार्यतालिकाअनुसार कार्यपालिका बैठक बस्न सकेको छैन । हेटौँडा उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गतेका लागि कार्यपालिका बैठकको कार्यतालिका बनाएको छ ।

सोमबार कार्यपालिका बैठक बस्ने तयारी नभएको जानकारी गराउनुहुँदै नगरप्रमुख मीना कुमारी लामाले पुस ६ गते कार्यपालिका बैठक बस्ने जानकारी दिनुभएको छ । कार्यतालिकाअनुसार २ गते बस्नुपर्ने बैठक नहुने जानकारी गराउनुहुँदै पुस ६ गतेको बैठकका लागि कार्यपालिका सदस्यहरुलाई कानुनबमोजिम जानकारी गराउने नगरप्रमुख लामाले बताउनुभएको छ ।

एकातिर कार्यपालिका बैठक कार्यतालिकाअनुसार बस्न सकिरहेको छैन भने अर्को तर्फ कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक हुन सकेको छैन । नगर कार्यपालिकाको बैठकका निर्णय सार्वजनिक गर्नुपर्ने विषयमा सञ्चार माध्यममा निरन्तर आलोचना भइरहँदा पनि कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्ने विषयमा भने हेटौँडा उपमहानगरपालिकाले बेवास्ता गर्दै आएको छ ।