पत्रकार सम्मेलनको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरको प्रथम जिल्ला सम्मेलन पुस ३ गते हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला सम्मेलनमा पार्टीका केन्द्रीय प्रवक्ता एवम् नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत आउने जिल्ला सभापति बुद्ध लामाले जानकारी दिनुभयो ।

सम्मेलनमा पार्टीका केन्द्रीय नेता गुरु घिमिरे, पार्टीका सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको उपस्थिति रहने लामाले बताउनुभयो । सम्मेलन हेटौंडाको रोयल पार्टी प्यालेसमा हुनेछ । सम्मेलनमा १ हजार ८ सय प्रतिनिधि र अन्य २ सय कार्यकर्तासहित २ हजार जनाको उपस्थिति रहने सभापति लामाले बताउनुभयो ।

सम्मेलनमा आन्तरिक गतिविधिको मूल्याङ्कन गर्दै आगामी वर्षको वार्षिक कार्ययोजना निर्माणको कार्यक्रम रहेको लामाको भनाइ छ । सम्मेलनमा फरक ढङ्गले जाने बताउँदै, उहाँले भन्नुभयो ‘नेपाली काँग्रेसको जिल्लामा १०२ वडा संरचना, १० पालिका संरचना, प्रदेशको ४ वटा, प्रतिनिधि २ वटा र जिल्ला संरचना १ गरी ११९ वटा संरचना रहेको छ । यसलाई तहगत रुपमा नयाँ ढंगले परिचालन गर्ने हाम्रो लक्ष्य रहेको छ । संरचना राजनीतिकरुपमा बनेको तर आर्थिक रुपान्तरण र सामाजिक रुपान्तरणका कुरामा सक्रिय भएन ।’ जिल्ला सम्मेलनमा सामाजिक रुपान्तरणसहितको छलफलमा जाने सभापति लामाले दावी गर्नुभयो ।

नेतृत्व सयौंको संख्यामा रहेको तर पार्टीको गतिविधिमा संलग्न हुँदै गर्दा सामाजिक रुपान्तरण छाडेकोले सामाजिक, आर्थिक रुपान्तरणलाई जोड्दै जाने उहाँले बताउनुभयो । पालिकालाई सुहाउँदो आर्थिक, सामाजिक रुपान्तरणको कार्यक्रम पार्टीको संरचनाले गर्ने बताउँदै जनातासँग जोडिने कार्यक्रम ल्याउने लामाको भनाइ छ ।

सम्मेलनमा १५ लाख रुपैयाँ खर्च हुने सचिव इन्दिरा न्यौपानेले बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टी सचिव भीमसेन महत, इश्वर पाठक, प्रवक्ता अर्जुन चौलागाई, प्रदेशसभा सदस्य जानुका लामालगायतको उपस्थिति रहेको थियो ।