मानवसेवा आश्रमको भवन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

हेटौंडाः नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले मानवसेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मानवसेवा आश्रमबाट भएको कामलाई विस्तार गर्न सातवटै प्रदेशमा भवन निर्माण, उद्दारका लागि सवारी साधन व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको तर्फबाट पहल गर्ने आश्वासन पनि प्रधानमन्त्रीले दिनुभएको छ । शनिबार हेटौँडा–९, लामसुरेधापमा निर्माण भएको आश्रमको भवन उद्घाटन गर्नुहुँदै गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

सडकमानव उद्दार गरी पालनपोषण गर्ने तथा पारिवारिक रुपमा पुनर्मिलन गराउने उद्देश्यले क्रियाशील मानवसेवा आश्रमको हेटौंडामा मुख्यालय निर्माण गरिएको छ । आश्रममा आश्रित नागरिकलाई प्रतिव्यक्ति प्रतिमहिना १० हजार रुपियाँका दरले राज्यले नगद उपलब्ध गराउनका लागि व्यवस्थापनको जिम्मेवारी लिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । संघर्षपछि नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भएको नेपालको संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको बताउँदै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखिएको उहाँको भनाई छ । संविधानको अधिकार कार्यान्वयन हुने क्रममा रहेको बताउँदै संविधानले दिएको काम मानवसेवा आश्रमले गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले ४० लाख रुपियाँ बजेट बिनियोजन गरेको जानकारी दिँदै आवश्यक समन्वय गरी काम गर्ने बताउनुभयो । आगामी दिनमा आवश्यकता अनुसार आश्रमलाई सहयोग गर्न तयार रहेको बताउँदै प्रदेश सरकार गरिब, असहायका लागि प्रदेश सकार स्रोत र साधनले भ्यायसम्म सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले सरकारको ध्यान मानवसेवामा भएको प्रमाण नै प्रधानमज्त्री स्वयम् यो कार्यक्रममा उपस्थित हुनुले जनाएको बताउनुभयो । प्रदेश सरकारले मानवीय सेवामा कार्य गर्दै आएकोले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सडकमानवमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागी पर्ने बताउनुभयो । आश्रममा बृद्धबृद्धा, गरिब, असहायलाई आश्रमलले साहारा दिने भएकाले सरकारले साथ दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको सवालमा कानून निर्माण वा संशोधन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

बागमती प्रदेशसभा सदस्य एवम् नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौंडाबाट मानवतावाद फैलने बताउँदै राजनीति गर्ने नेतृत्वले पनि मानवतावादी राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । देशका सबैभन्दा ठुलो मानवतावाद भएको बताउँदै सबै राजनीतिक दल मिलेर सडकमानवमुक्त राज्य निर्माणमा लाग्नुपर्ने उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख राजेश बानियाँले हेटौंडाको पहिचानको रुपमा रहेको आश्रमले मानवताको प्रवद्र्धन गरेको बताउँदै पालिकाले आश्रमको अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हेटौंडा बजारको २५ मिटर समस्या आइरहेकोले समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष उहाँले आग्रह गर्नुभयो ।

एक गाँस भोजन र एक सरो कपडाको अभावमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था निर्माण गर्ने दृढ संकल्पसहित २०६९ साल भाद्र १३ गते मकवानपुर जिल्ला हेटौँडाबाट शुभारम्भ भएको मानवसेवा आश्रम ७ प्रदेशको विभिन्न १९ वटा जिल्लामा २४ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । नेपालमा बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एक कर्णाली, प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा १ वटा मानवसेवा आश्रम रहेको छ ।

मानवसेवा आश्रम हेटौंडामा २१ जना बालबालिका, ७६ जना महिला र १०७ जना पुरुष गरी २०४ जना आश्रित छन् । हालसम्म आश्रमले १ हजार ५ सय ८१ जना उद्दार गरेकोमा ८ सय ३६ जनाको पारिवारिक पुनर्मिलन भएको, १ सय ८४ जनाको शरीर शान्त, ४ सय २० जनाले स्वेच्छाले आश्रम छाडेको, ५१ जनाको सामुदायिक पुनर्मिलन गरेको र ३४ जनाको पुनः उद्दार गरेको छ । केही समयअघि मानवसेवा आश्रम हेटौंडाले मेची–महाकाली अभियान सञ्चालन गरी ३०२ जना सडकमानवको उद्दार गरेको थियो ।