हेटौंडाः हेटौंडा–९ स्थित मानवसेवा आश्रमले आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण र प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आश्रमले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आश्रमको आयव्यय सार्वजनिक गरेको हो । मानवसेवा आश्रमको कुल सम्पत्ति २१ करोड २४ लाख ५२ हजार ६७१ रुपैयाँ रहेको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमले दानबाट २ करोड ४७ लाख ५६ हजार १५० रुपैयाँ र अन्य दान, चन्दा तथा सहयोगबाट ४४ लाख ९० हजार ८९३ रुपैयाँ गरी २ करोड ९२ लाख ४७ हजार ४३ रुपैयाँ आम्दानी गरेको जनाएको छ । मानवसेवा आश्रमको खर्च ३ करोड ७१ लाख ९१ हजार ७९७ रुपैयाँ भएको आश्रमका लेखा प्रशासन प्रमुख अस्मिन गौतमले जानकारी दिनुभयो । आश्रम गत आर्थिक वर्ष ७९ लाख ४४ हजार ७५३ रुपैयाँ घाटामा रहेको गौतमले बताउनुभयो ।
आश्रमलाई सरकारी कार्यालयबाट भौतिक निर्माण तथा व्यवस्थापनको लागि २ करोड ४ लाख ९४ हजार ५७७ रुपैयाँ प्राप्त भएको आश्रमले जनाएको छ । नेपथ्य कार्यक्रम–२०८० मा ४४ लाख २५ हजार ५१९ रुपैयाँ आम्दानी भएको गौतमले जानकारी दिनुभयो । आश्रमको अक्षयकोष तथा वार्षिक भोजन सेवा कोषमा ३ करोड ६३ लाख ३२ हजार ३१ रुपैयाँ रहेको छ ।
मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन गराउने उद्देश्यले मानवसेवा आश्रमको स्थापना भएको बताउनुभयो । विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडकआश्रित मानवहरुको उद्दार, परामर्श, औषधोपचार एवम् पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । पारिवारिक पुनर्मिलन हुन नसक्नेहरुका लागि लालनपालन र संरक्षण आश्रमले गर्दै आइरहेको उहाँले बताउनुभयो ।
निरन्तरको प्रयास र पहलको कारण नेपाल सरकारले नीति तथा कार्यक्रममा मानवीय सेवामा समर्पित संघ–संस्थाहरुसँगको सहकार्यमा नेपाल देशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने उद्घोष गरेको अधिकारीले जानकारी दिनुभयो । यसअघि गण्डकी र कर्णाली प्रदेशले सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरेको र बागमती प्रदेश पनि सहयोगापेक्षी मुक्त प्रदेश घोषणाको तयारीमा रहेको उहाँले बताउनुभयो ।
एक गाँस भोजन र एक सरो कपडाको अभावमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था निर्माण गर्ने दृढ संकल्पसहित २०६९ साल भाद्र १३ गते मकवानपुर जिल्ला हेटौंडाबाट शुभारम्भ भएको मानवसेवा आश्रम ७ प्रदेशको विभिन्न १९ वटा जिल्लामा २४ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । नेपालमा बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एउटा मानवसेवा आश्रम रहेको छ ।
मानवसेवा आश्रम हेटौंडामा २१ जना बालबालिका, ७६ जना महिला र १०७ जना पुरुष गरी २०४ जना आश्रित रहेका छन् । हालसम्म आश्रमले १ हजार ५ सय ८१ जनाको उद्दार गरेकोमा ८ सय ३६ जनाको पारिवारिक पुनर्मिलन भएको, १ सय ८४ जनाको शरीर शान्त, ४ सय २० जनाले स्वेच्छाले आश्रम छोडेको, ५१ जनाको सामुदायिक पुनर्मिलन गरेको र ३४ जनाको पुःनउद्दार गरेको छ । केही समयअघि मानवसेवा अश्रम हेटौंडाले मेची–महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार गरेको थियो ।
आश्रममा संथापक अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरी प्रमुख एसपी अनिल कार्की, सामाजिक विकास मन्त्रालयका बालबालिका महाशाखा प्रमुख अमृत अधिकारी, आश्रमका उपाध्यक्ष उमा भण्डारीलगायतको उपस्थिति रहेको थियो ।











