हेटौंडाः मकवानपुर तथा अन्य जिल्लाहरुमा एचआईभी संक्रमितमाथिको भेदभाव तथा लाञ्छना बढ्दै गएको छ । अहिलेको समयमा समेत मानिसले बुझेर तथा नबुझेर एचआईभी संक्रमितलाई भेदभाव गरिरहेका हुन् ।

बिहीबार मकवानपुर पोजेटिभ समूहको आयोजनामा पत्रकार र सरोकारवालासँग बैठक बसेको थियो । पल्पसा हलमा भएको बैठकमा मकवानपुर पोजेटिभ समूहकी कार्यक्रम संयोजक विष्णु गुरुङले एचआईभी संक्रमितलाई अन्य स्थानबाट बढ्दै गएको भेदभावको बारेका बताउनु भएको थियो ।

बैठकमा सहजरुपमा उपचार सेवा, एचआईभीको गोपनियता र लाञ्छना तथा भेदभावको बारेमा छलफल भएको हो । एचआईभी संक्रमित भएका मानिसहरु हेपाइका कारण आफ्नो समस्या राख्न डराउने गरेको गुरुङले बताउनुभयो । एएनएफको सहयोगमा भएको बैठकमा एचआईभीको बारेमा मानिसलाई बुझाउन राष्ट्रिय एजेण्डा बनाउन आवश्यक रहेकोमा सहभागीहरुको जोड थियो । बैठकमा गुरुङले अहिले गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा स्थानीय स्रोत परिचालनमा जोड दिने समूहको योजना रहेको बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग, मकवानपुर महिला समूह तथा मकवानपुर रिकभरिङ्ग समूहको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भएको गुरुङले बताउनुभयो । गुरुङका अनुसार हेटौंडा उपमहानगरपालिकाबाट ६ जना बालबालिकाहरुलाई मासिक एक हजारको दरले पोषण सहयोग गरिएको छ ।

यस्तै, ५ जनालाई २५ हजारको दरले आयआर्जनमा सहयोग प्राप्त भएको छ भने १८ वर्षमाथिको एक जनालाई शिक्षामा सहयोग भएको हो । एक जना संक्रमितलाई रिफरको लागि एम्बुलेन्स भाडा सहयोग प्राप्त भएको थियो भने ११ जना प्रभावित बालबालिकाहरुलाई १२ हजारको दरले शिक्षामा सहयोग गरिएको गुरुङले बताउनुभयो ।

समूहले हेटौंडा उपमहानगरपालिकामा एचआईभी सम्बन्धी कार्यविधि बनाउन सफल भएको संयोजक गुरुङले जानकारी दिनुभयो । उपमहानगरपालिकाको साथै विभिन्न वडा कार्यालयहरुसँग समन्वय र सहकार्य भइरहेको उहाँले बताउनुभयो । राक्सिराङ गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाबाट पनि सहयोगको प्रतिबद्धता जाहेर भएको उहाँले जानकारी दिनुभयो ।

गोपनियता भंग हुने र लाञ्छना तथा भेदभावको डरले सेवाग्राहीहरुले आफ्नो स्थानीय निकायबाट सेवा लिन र उपचार सेवामा कठिनाई भइरहेको बताइएको छ । बैठकमा मकवानपुर पोजेटिभ समूहका अध्यक्ष राजुकुमार सुवेदीले मानिसहरुको एचआईभीलाई हेर्ने नजर फरक भएको बताउनुभयो । सुवेदीले हेटौंडा अस्पतालबाट एचआईभी संक्रमितलाई विभेद भएको बताउनुभयो ।

एचआईभी संक्रमितसँग बस्दैमा, खाँदैमा, सुत्दैमा एचआईभी सर्दैन । ‘एचआईभी संक्रमित व्यक्तिले हेपाइको डरले आफ्नो समस्या राख्न सकिरहेका हुँदैनन्’, संयोजक गुरुङले भन्नुभयो– ‘एचआईभी भनेको एउटा मानिसमा हुने संक्रमण भएकाले हामीले समाजमा यसलाई सामान्यरुपमा हेर्नु पर्दछ ।’ नेपालको धेरै क्षेत्रहरुमा संक्रमित व्यक्तिहरुले जाँच गर्न जाँदा पनि हेपाईपूर्ण व्यवहार भइरहेको उहाँले जानकारी दिनुभयो ।