मोतिविन्दुको शल्यक्रियापछि आँखाको पट्टी खोलिँदै ।

हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालले पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालिकाको समन्वय एवम् हिमालयन क्याट्¥याक्ट प्रोजेक्टको सहयोगमा ३ सय २० जना मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ । पटेर्वा सुगौली गाउँपालिकाको निचुटामै पुगेर मोतिविन्दुको शल्यक्रिया गरेको हो ।

पटेर्वा सुगौली गाउँपालिका र सखुवा पर्सौनी गाँउपालिकामा गत मंगलबार, बुधबार र बिहीबार तीन दिन निशुल्क आँखा शिविर आयोजना गरी मोतिविन्दु भएका व्यक्तिको छनौट गरिएको थियो । आँखा शिविरहरुमा १ हजार ६ सय १ जनाको आँखा जाँच गर्दा ४ सय जना मोतिविन्दुका बिरामीहरु छानिएका थिए । हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. मोहिनी श्रेष्ठ र एलिना गौचन नेतृत्वको चिकित्सक एवम् स्वास्थ्यकर्मी टोलीले शुक्रबार, शनिबार र आइतबार तीनदिन शल्यक्रिया गरेको थियो ।

पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतोले आँखा स्वास्थ्यका लागि अत्यन्त उपयोगी शिविर गाँउपालिकाले नियमित रुपमा सञ्चालन गर्न सहयोग गर्ने बताउनु भयो । स्ट्याण्डर्ड चार्टड बैंकको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठान र हेटौँडा सामुदायिक आँखा अस्पतालले पटेर्वा सुगौली गाउँपालिकाको निचुटामा आँखा केन्द्र संचालन गरेको छ । गत साउन १६ गते आँखा केन्द्रको उद्घाटन गरिएको थियो । स्थानीय गौरीशंकर चौधरी र तारा श्रेष्ठ दम्पतीले आँखा केन्द्र स्थापना गर्न करिव ४ कठ्ठा जग्गा दान गर्नुभएपछि आँखा केन्द्र स्थापना गरिएको हो ।