हेटौंडाः चितवनमा सवारी दुर्घटनामा परी एकै दिन ३ जनाको मृत्यु भएको छ । शनिबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा ६ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
चितवनको माडी नगरपालिका–१, बरुवाको चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको जीपले बाग्मती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सूर्य अधिकारी र मोटरसाइकलको पछाडि बेगबहादुर खत्रीको मृत्युभएको छ । दुर्घटनामा भवानीप्रसाद पौडेल घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवन खैरहनी नगरपालिका–१०, सिद्धार्थचोकमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । राप्ती ड्याम साईडबाट पर्सातर्फ आउँदै गरेको ना ३४ प ९९९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार खैरहनी–२, काशीगाउँका २५ बर्षीय मनिष भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक खैरहनी–१, ज्यामिरेका २४ वर्षीय सचिन साह गम्भिर घाइते भएका छन् ।
यस्तै, भरतपुर महानगरपालिका–१५, मंगलपुरमा ना ३२ प ८०४६ नम्बरको स्कुटरले साइकललाई ठक्कर दिने क्रममा स्कुर चालक भरतपुर–२६, बस्ने ५१ वार्षीय मदन कुमार महतो र स्कुटरमा सवार निजको आमा ७० वर्षीय प्रेम कुमारी महतो घाईते भएको प्रहरीले जनाएको छ । भरतपुर–१, बाईपास रोडमा ग.प्र. ००२ प २९०२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक सप्तगण्डकी चोक बस्ने ३२ वर्षीय प्रभु तिवारी घाईते भएका छन् । ईच्छाकामना गाउँपालिका–५, मुग्लिङमा बसबाट खसेर एक जना घाईते भएका छन् । नुवाकोटदेखि नारायणगढतर्फ आउँदै गरेको जन्ती लिएर आएको ग १ ख ९६३४ नम्बरको बसबाट मुग्लिङ बजारमा रोकेको बसमा सवार राप्ती–२, गड्यौली बस्ने ४१ वर्षीय विष्णु दवाडी बसबाट झर्न खोज्दा लडेर घाइते भएका छन् ।