हेटौँडाः हेटौँडा–१०, गोरक्षेश्वरधामस्थित संस्कृत वेद विद्यालयले संस्थापक प्रेमनाथ पराजुलीको चौथो स्मृति सभाको आयोजना गरेको छ । संस्थापकको स्मृति सभामा उहाँको योगदानको चर्चा गर्दै विद्यालयको महत्वबारे सहभागीले उजागर गरेका थिए । संस्कृत विद्या विशिष्ट विद्याको रुपमा रहेको, लोक हुन लागेको र संस्कृतको महत्व बुझ्दै आकर्षकण समेत बढिरहेको सन्दर्भमा विद्यालयको उचित व्यवस्थापन र प्रभावकारी पठनपाठनका लागि सहभागीले जोड दिएका छन् । कार्यक्रममा सहभागी सबैले वेद विद्यालयको सुधारमा साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा स्मृति सभा भएको हो । विद्यालयका संस्थापक पराजुलीको विषयमा विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारीले जानकारी गराउनुभएको थियो । विद्यालयको स्थापना र नियमित सञ्चालनमा निरन्तर क्रियाशील रहनुभएका प्रेमनाथ पराजुलीको योगदानको सम्मानमा विद्यालयको सुधार गर्नु जरुरी रहेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख बानियाँले संस्कृत वेद विद्यालयका बारेमा आफूलाई अहिले मात्रै जानकारी भएको र आगामी दिनमा उपमहानगरबाट हुन सक्ने सहयोगका लागि प्रतिवद्ध रहेको बताउनुभयो । संस्कृत वेद विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् संस्थापक प्रेमनाथ पराजुलीका छोरा सुयशराज पराजुलीले संस्कृत वेद विद्यालयलाई सामान्य विद्यालयकोरुपमा मात्रै बुझ्नु गलत भएको बताउनुभयो । आवासीय सुविधासहितको विशिष्ट विद्यालयको उचित व्यवस्थापनका लागि सरोकारवालाले सकारात्मकरुपमा लिनुपर्ने उहाँको सुझाव थियो । कार्यक्रममा वडाध्यक्ष फुर्वा दोर्जे लामाले संस्कृत वेद विद्यालयका लागि आवश्यक बजेटका लागि नगरमा पहल गर्ने र नगरले बजेट उपलब्ध गराउने अवस्था नरहे वडाले नै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिक्षा नै विकासको मूल आधार भएको उल्लेख गर्नुहुँदै वडाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएलगत्तै सकारात्मक प्रयास भइरहेको उल्लेख गर्नुहुँदै वडाअध्यक्ष लामाले भन्नुभयो, “विद्यालयमा अध्ययनरत बटुकको सुविधाका लागि पानी तताउने सोलार प्यानल जोड्ने काम भइरहेको छ । विद्यालयको सरसफाई, शौचालय व्यवस्थापन, भान्छा, कक्षाकोठाको उचित व्यवस्थापनमा पनि काम भइरहेको छ । जसमा वडाको प्रत्यक्ष र पूर्ण सहयोग छ ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले विद्यालयलाई सहयोग गर्न धेरै व्यक्ति र संघ, संस्थाले अग्रसरता देखाएको जानकारी गराउनुभएको छ । व्यवस्थापन समिति पुनर्गठनपछि संस्कृत वेद विद्यालयको सकारात्मक विकासमा योगदान गर्न धेरै क्षेत्रबाट अग्रसरता देखाइरहनुभएको उल्लेख गर्नुहुँदै सहयोग गर्न चाहनेको विश्वास जित्ने गरी काम गर्नु जरुरी रहेको थापाको भनाइ छ ।
हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हरिचन्द्र सापकोटा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी अधिकृत उन्नति ढकाल, गोरक्षेश्वरधाम विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकाल, त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमको पनि उपस्थिति रहेको थियो । २०५६ सालमा स्थापना गरिएको विद्यालयमा कक्षा–४ देखि कक्षा–८ सम्म पठनपाठन हुन्छ । विद्यालयमा अहिले २७ जना विद्यार्थी अध्ययनरत छन् ।