चखेल–मातातीर्थ सडकखण्डको निर्माण कार्य चाँडो सकाउन प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले हेटौंडाका निर्माण व्यवसायी शिव चौलागाईलाई निर्देशन दिदै ।

हेटौंडाः हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो दुरीको चखेल–मातातीर्थ सडकखण्डको निर्माण कार्य चाँडो सकाउन प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले निर्देशन दिनुभएको छ । बुधबार सांसद बर्तौलाले उक्त सडकखण्ड निर्माणको ठेक्का लिएका हेटौंडाका निर्माण व्यवसायी शिव चौलागाईलाई चाँडो काम सक्न निर्देशन दिनुभएको हो ।

व्यवसायी चौलागाईले २०७६ सालमा २२ महिनाभित्र उक्त सडकखण्ड निर्माण सम्पन्न गर्ने सम्झौता गरेका थिए । चौलागाईले उक्त सडकखण्ड निर्माणका लागि २३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् । तर सडक निर्माण कार्यमा ढिलाई भएपछि सांसद बर्तौलाले बुधबार व्यवसायी चौलागाईलाई निर्माण कार्य चाँडो सकाउन निर्देशन दिनुभएको हो । सांसद बर्तौलाका अनुसार व्यवसायी चौलागाईले एक–दुई दिनमै कामदार थपी बाटो बन्द गरेर भए पनि निर्माण कार्यलाई निरन्तरता दिने बताएका छन् । व्यवसायी चौलागाईले काम गरेको पैसा नियमित भुक्तानी नभएको गुनासो गरेका थिए भने त्यसमा पहल गर्न सांसद बर्तौलालाई आग्रह गरेका थिए ।

करिब १४ किलोमिटर दुरीको सडकखण्डको अझै करिब ४५ प्रतिशत निर्माण काम हुन बाँकी रहेको सांसद बर्तौलाको अनुमान छ । उहाँका अनुसार अहिले पुरानो संरचनाहरु पनि भत्किएको अवस्था छ । यसका लागि आज बिहीबार पनि व्यवसायी चौलागाईसँग छलफल हुने सांसद बर्तौलाले बताउनुभयो । निर्माण कार्यतालिकासहित काम गर्ने व्यवसायी चौलागाईले प्रतिवद्धता व्यक्त गरेको सांसद बर्तौलाले बताउनुभयो । यस्तै, सांसद बर्तौलाले इन्द्रसरोवर–४, फाखेलमा निर्माणाधीन वीर फाखेल मैत्रीपार्कको निर्माण कार्य पनि चाँडो सकाउन निर्देशन दिनुभएको छ । उक्त पार्क निर्माणको जिम्मा पनि व्यवसायी चौलागाईले पाएका छन् । २०७८ सालमा ४ करोड ५१ लाख रुपैयाँमा उक्त पार्क निर्माणको जिम्मा पाए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

सांसद बर्तौलाले व्यवसायी चौलागाईलाई काम गर्न नसकेमा सक्दैन भनेर छोड्नुपर्ने नभए निर्माण कार्य चाँडो सकाउनुपर्ने बताउनुभयो । त्यसका लागि आज बिहीबार ठेकेदार र त्यहाँका जनप्रतिनिधिहरुलाई काठमाडौंमा छलफलका लागि बोलाइएको सांसद बर्तौलाले बताउनुभयो । बिहीबार सबै बसेर पर्यटन मन्त्रालयमा उक्त पार्क निर्माण कार्यबारे छलफल गरिने उहाँले बताउनुभयो ।