हेटौंडाः गत बैशाख ८ गते हेटौंडाका दुई बालिका भारतमा बेचिन पुगे । बेचिएका उनीहरुको नाता दिदीबहिनी हो । बेचबिखनमा परेकी दिदी १५ वर्षकी र बहिनी १२ वर्षकीमात्र थिइन् ।
अन्जानका व्यक्तिसँग दाजुबहिनीको नाता जोडिन पुगेपछि उनै दाजु भन्नेबाट नै उनीहरु बेचिन पुगेका हुन् । जेठ महिनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आमाले आफ्ना हराएका दुई छोरी खोजी गर्न निवेदन दिएका थिए । बाल हेल्पलाइन मकवानपुरका अधिकृत सम्झना अधिकारीका अनुसार यस घटनामा गिरोहको समूह नै लागिपरेको छ । १५ वर्षीया दिदीचाहिँ काठमाडौंको होटलमा काम गर्थिन् । होटलमा काम गर्ने दौरानमा दुईजना केटाहरु रमेश र उमेशसँग चिनजान भयो । रमेशले आफ्नो पोखरामा १२–१३ तल्लाको घर छ भनेर बालिकालाई सुनाए । कुरा गर्दै गर्दा ती बालिका र रमेश एउटै थरको भएकाले रमेशले उनलाई तिहारमा मलाई टीका लगाउनुपर्छ भने ।
ती बालिकाले पनि आफ्नो दाइ नभएकाले रमेशलाई दाइकै रुपमा सोच्न थालिन् । रमेशले आफ्नो पनि दिदीबहिनी नभएको र उनको पनि दाजुभाइ नभएपछि दाजुबहिनी भनेर नाता जोडे । रमेश काठमाडौंको एउटा गेष्ट हाउसमा बस्दै आएका थिए । रमेशले १५ वर्षीया बालिकालाई आफ्नो कोठामा भेट्न बोलाएका थिए । त्यहाँ रमेश मात्रै थिएनन्, उनका साथी उमेश पनि थिए । रमेशले उमेशलाई आफ्नै गाउँको साथी भनी बालिकालाई परिचय गराए ।
रमेश गत बैशाखमा ती बालिकाको घर हेटौंडासमेत आएका थिए । बालिका पनि मातातीर्थ औँसीमा आमाको मुख हेर्छु भनेर आफू काम गर्दै आएको होटलबाट बिदा मागेर आएकी थिइन् । उनीहरु दुई दिन बसेर काठमाडौं फर्किने क्रममा दिदीले आफ्नी १२ वर्षीया बहिनीलाई काठमाडौं घुमाउन लान्छु भनेर लगिन् ।
काठमाडौं पुगेपछि रमेशले दिदीबहिनीलाई पोखरा घुमाइदिन्छु भने । त्यसपछि दिदीले म मेरो कपडाहरु लिएर आउँछु र मोबाइल पनि बनाउनु छ भनेर आफू काम गर्ने होटलमा गइन् । रमेशले कपडा किनिदिने भन्दै बहिनीलाई लिएर गए । दिदीले बहिनीलाई भेट्न जाँदा कपडा किनिरहेको भनेको ठाउँ र रमेश बस्दै आएको होटलमा समेत नभेटेपछि दिदी आफूले काम गर्ने होटलमै आइन् । भोलिपल्ट रमेश र उमेशलाई भेटेपछि पोखरा जाने सल्लाह भयो । दिदीबहिनीसहित ४ जना पोखरा जान हिँडे पनि उनीहरु नारायणगढ झरेर बुटवल गए ।
बुटवलमा बसेर भोलिपल्ट बिहान उनीहरु भ्यानमा चढे । भ्यानमा अरु केटा मान्छेहरु थपिए । भ्यानमा रमेश गएनन्, उमेश र अरु केटाहरु थिए । अलि पर पुगेर अस्पतालअगाडि भ्यान रोकिएपछि रमेश दाइ किन नआएको भनेर दिदीबहिनीले सोधे । उसको काम छ, पछि आउँछ अनि भेट्छ भनेर उनीहरुलाई दिइयो ।
एक छिनपछि बुलेट बाइकमा इन्डियन हुलियाका केटा आए । त्यसपछि उनीहरुलाई त्यो अंकलसँग परसम्म जाउ, हामी पनि आउँछौं भनियो । कतै चेकिङतिर पर्यो भने हामी यतैको मान्छे हो, घुम्न आएको भनेर भन्नु भनियो । त्यसपछि त्यो बाइकवालाले बोर्डरसम्म उनीहरुलाई पुर्याएर छोडिदिए । त्यसपछि भारतबाट एउटा गाडी आएको र मुखमा सुँघाएको मात्र बालिकाहरुले चाल पाएका थिए । होसमा आएपछि तिमीहरु भारत आइपुगेका छौ, केही डर नमान्नु, घुमेर फर्कौंला भनियो । उनीहरुले दाइहरु खोइ ? भनेर सोध्दा आउँछ भन्ने जवाफ दिएरमात्रै टारे । त्यसपछि गाडीवालाहरु हामी खाना खान जान्छौँ, तिमीहरुलाई यहीँ ल्याइदिन्छौं भन्दै गाडीबाट निस्क्यो भने यहाँको मान्छेले मार्छन् भनेर बालिकाहरुलाई डर देखाए ।
त्यसपछि त्यहाँ अर्को एक पात्र थपियो । उनीहरुकै सेटिङमा एउटा नेपाली महिला त्यहाँ बालिकाहरु भएको ठाउँमा आइन् । उद्दार गर्ने मान्छेजस्तो बनेर तिमीहरु यहाँसम्म कसरी आइपुग्यौ ? भनेर ती महिलाले बालिकाहरुलाई सोधिन् । त्यसपछि दिदीबहिनीले उनीसामु दुःख बिसाए र आफ्ना कुरा भने । ती महिलाले म तिमीहरुलाई सहयोग गर्छु भनेर आफ्नो कोठामा लगिन् । दिदीबहिनीलाई ती महिलाले ३ रात आफ्नो कोठामा राखिन् । बहिनीलाई रुघा लागेको थियो । बहिनीलाई हेरचार गरेकोजस्तो नाटक गरेर औषधी ल्याएर खुवाइन् ।
दिदीलाई तिमी ठूली भइसक्यौ, घर फर्किनुपर्छ, तिमीहरुलाई खर्च पनि चाहिन्छ भन्दै ती महिलाले काम मिलाइदिन्छु भनेर यौन शोषण गर्ने ठाउँमा लिएर गइन् । ती महिलाले तिमीले काम गर्ने ठाउँ यहि हो भनेर उनलाई छोडेर हिँडिन् । त्यो ठाउँमा सबै भारतीयमात्रै थिए । बालिकाले हिन्दी भाषा बुझ्ने तर बोल्न अलि नजान्ने भएपछि कुराकानी गर्न समस्या भइरहेको थियो । काम गर्ने ठाउँमा बालिकालाई यौन सम्पर्कका लागि तयार हुन भनियो । बालिका दिनरात रोएर बसिन् । बहिनीलाई भने महिलाले बच्चा हेर्ने काम लगाएकी थिइन् ।
दुई महिनाको अवधिमा दिदी र बहिनीको भेटघाट र बोलचालसमेत हुन पाएन । त्यस ठाउँमा पु¥याएकी महिलाले यो केटीले यहाँ काम गर्न सक्दैन भन्दै काम गर्न कर्नाटक पठाइन् । उनलाई कर्नाटकसम्म लैजाने महिलाले नै बहिनीलाई आफ्नो घरमा बच्चा हेर्न राखेकी थिइन् । उनले ती महिलालाई आफ्नो व्यथा सुनाइन् । हामी दिदीबहिनीलाई यसरी यहाँसम्म ल्याएको र बहिनी हराइरहेको दिदीले बताइन् । ती महिलालाई दिदीले आफ्नो बहिनीको बारेमा सोधखोज गरेपछि महिलाले थाहा भयो भने भन्छु भनिन्, बहिनी मसँग छिन् भनेर बताइनन् ।
एकदिन उनीहरुले आमाले रुँदै आफ्ना छोरीहरु हराएको भन्दै मिडियालाई बताएको भिडियो हेर्न पाए । बालिकाहरुको बारेमा मिडियामा समाचार सामग्री आइरहेको र विभिन्न संघसंस्थाहरु खोजीमा लागिराको छ भन्ने थाहा पाएपछि कर्नाटक लगेकी महिलाले तिम्रो बहिनी फेला पर्यो, तिमीहरु अब घर जानुपर्छ भनेर दिदीबहिनीको भेट गराइदिइन् ।
भोलिपल्ट बिहान ती महिलाले दिदीबहिनीलाई बसपार्क लगेर बसमा चढाइदिनु भन्दै अटोमा पठाइदिइन् । उनीलाई भारतीय १० हजार रुपैयाँसमेत दिएर पठाइन् । भारत पुगेदेखि नै उनीहरुको मोइबाल जफत गरिएको थियो । उनीहरुसँग कुनै परिचयपत्र थिएन । बोर्डरमा रोकेर चेक गर्दा परिचयपत्र नभएपछि रोकिएका दिदीबहिनीलाई नेपाल आउने बस ड्राइभरले नेपाली चेलीहरु रहेछन्, हामी जिम्मा लिएर नेपाल पुर्याइदिन्छौँ भनेर ल्याइदिए ।
दिदीबहिनी असारको २० गते घर आइपुगे । एक्कासी हराएका छोरीहरु घरमा आइपुग्दा आमा चकित भइन् । त्यसपछि आमाले छोरीहरुलाई लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गइन् । प्रहरीले थप परामर्श गर्नुपर्छ भनेर उनीहरुलाई बाल हेल्पलाइनमा पठायो । लगभग एक महिनापछि मात्रै उनीहरुले खुलेर सबै कुरा बताउन थालेको बालहेल्पलाइनकी अधिकृत अधिकारीले बताउनुभयो । त्यो बेलामा उनीहरु डराउने र कम बोल्ने प्रकृतिका भइसकेका थिए ।
बालिकाहरुसँग घटना विवरण लिएर बाल हेल्पलाइनले एउटा प्रतिवेदन बनायो । अधिकृत अधिकारीका अनुसार ती बालिकाहरुले प्रयोग गरेको सिम र कल डिटेल माग गर्न प्रहरीलाई भनियो । कल डिटेलमा अलि अगाडिको मितिको डिटेलमात्र आएको उहाँको भनाइ छ । अगाडिको कल डिटेल हेरेर पटक–पटक सबैभन्दा बढी कुराकानी भएका नम्बरमा फोन गर्दा ती नम्बरहरु स्वीच अफ गरिएको उहाँले बताउनुभयो । काठमाडौंमा उनीहरु बस्ने होटलवालासँग ती केटाहरुको पहिचान खुल्ने कुनै कागजपत्र झिकाउन प्रयास गरे पनि अझै सफल हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयमा आफ्ना छोरीहरु बेचबिखन गर्नेविरुद्ध आमा उजुरी हाल्न गइन् । अनुसन्धान गर्दै जाँदा १५ वर्षीया बालिकालाई आफ्नै दिदीले काठमाडौंमा पनि होटलमा काममा लगाएकी थिइन् । दिदी भन्ने उनकी आमाकी पहिलो श्रीमानपट्टिकी छोरी हुन् । उनै दिदीको संलग्नतामा यस्तो भएको आशंका हुन थाल्यो । त्यसपछि आमाले प्रहरीमा जाहेरी दिनबाट पछि हटिन् । छोरीले काठमाडौं प्रहरीमा पनि बहिनीहरु हराएको भनेर निवेदन दिएकी थिइन् । आमा उजुरी हाल्न पछि हटेपछि प्रहरीले जाहेरीको जिम्मा लिएन । बालिकाकी बुबाचाहिँ अत्यधिक मदिरा सेवन गर्ने गरेको र अहिले छोरीहरुलाई केही मतलब नराख्ने गरेको बताइएको छ । परिवारकै सदस्य प्रतिवादी हुने भएपछि परिवार हच्किएको छ भने प्रहरीले वास्तविक दोषीलाई पक्राउ गर्न अग्रसरता देखाएको छैन ।