विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । एड्स दिवसको अवसरमा शुक्रबार हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गरिएको छ । एड्स दिवसको अवसरमा स्वास्थ्य सम्बद्ध संघसंस्था, गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो । विश्वभर समस्याको रुपमा रहेको एचआईभी÷एड्स न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाउने गरिएको छ । यस वर्ष ३६ औं विश्व एड्स दिवस शुक्रबार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । एचआईभी र एड्स रोगको प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वको ध्यानाकर्षण गराउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी एड्स दिवस मनाइएको छ ।
सन् १९८१ मा पहिलो एचआईभी संक्रमित फेला परेदेखि हालसम्ममा करिब ९ करोड मानिसमा एचआईभी संक्रमण भएको तथ्यांक छ । संक्रमणका कारण चार करोडभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा भने सन् १९८८ मा पहिलो पटक एचआईभी संक्रमित फेला परेको थियो । त्यसपछिका वर्षहरुमा नेपालमा एचआईभी संक्रमितको संख्या बढ्दै गएकोमा पछिल्ला वर्षहरुमा संक्रमितको संख्या क्रमशः घटिरहेको छ । एचआईभी भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि एचआईभी संक्रमण हुने गर्दछ । एचआईभी संक्रमण भएपछि उक्त व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतालाई ह्रास गराउँछ र सानातिना रोगहरुहले पनि बारम्बार सताउने गर्दछ । तिनै रोगहरु लामो समयसम्म निको हुन नसक्ने अवस्थालाई एड्सको रुपमा बुझिन्छ । असुरक्षित यौनसम्पर्क राख्दा, एचआर्ईभी संक्रमित व्यक्तिलाई लगाएको सुई लगाउँदा र एचआईभी संक्रमितको रगत लिँदा संक्रमणको जोखिम हुने गर्दछ ।
विगतमा एचआईभी संक्रमणको कुनै उपचार नभए पनि नियमित एन्टिरेट्रो भाइरल औषधी खाए एचआईभी संक्रमित व्यक्तिले स्वस्थ जीवनयापन गर्न सक्छन् । नेपाल सरकारले पनि एचआईभी संक्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रो भाइरल उपचार सेवा दिँदै आएको छ । एन्टिरेट्रो भाइरल उपचार पद्दतिको विकास भएकापछि एड्सको महामारी पनि कम हुँदै गएको छ । तर, एचआईभी संक्रमितको समयमै उपचार नभएमा यसले एड्सको रुप लिन्छ र संक्रमित व्यक्तिको ज्यानैसम्म जाने खतरा हुन्छ । दिगो विकास लक्ष्यअन्तर्गत् नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ । सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिने र जेलका कैदीमा एचआईभी संक्रमणको जोखिम उच्च रहेको देखिन्छ ।
प्रत्येक वर्ष एचआईभी/एड्सको रोकथाम, हेरचाह र उपचार सेवाका लागि यो दिवस मनाउने गरिन्छ । एचआईभी संक्रमितलाई सहज जीवनयापनका लागि समुदायले सकारात्मक नजरले हेर्न एड्स दिवसले प्रेरित गर्न सक्नुपर्छ । यस वर्षको दिवसको नारा नै समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ भन्ने रहेकाले समुदायले संक्रमितलाई स्वीकार गरी सहज जीवनयापनका लागि सघाएमात्रै पनि संक्रमितमा हौसला बढ्छ र उसले सहजै जीवन जिउन सक्छ । समुदाय सकारात्मक बनेमा संक्रमितहरु निर्धक्क सार्वजनिक भएर निरन्तर औषधी सेवन गर्न प्रेरित हुन्छन् । समयमै औषधी प्रयोग गर्न सके एचआईभी संक्रमणबाट बच्न सकिनेछ । एड्स लागिसकेपछि पनि नियमित औषधीले भाइरल लोड कम गर्दै भाइरसलाई निष्प्रभावी बनाउने भएकाले संक्रमितको पहिचानसँगै औषधी उपचारमा ध्यान जान सकेमा एचआईभी/एड्स नियन्त्रण असम्भव छैन ।