फाइल तस्वीर

हेटौँडाः हेटौंडामा सञ्चालन भइरहेको “हेटौडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८०” को पाँचौँ राउण्ड समाप्त हुँदा दुई भारतीय र दुई बंगलादेशी खेलाडी शीर्षस्थानमा रहँदै उपाधिमा दावेदारी प्रस्तुत गर्दैछन् ।

२३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी सुभयान कुण्डुले चौथो राउन्डमा सहज जीत हात पारे र पाँचौं राउन्डमा दोस्रो वरियताका बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिएका छन् । भारतीय खेलाडी राहुल गुरुङले श्रायण माजुम्दार र बंगलादेशी एफएम नयेम हकले अमरदीप बर्तके माथि जीत निकाल्दै भारतीय खेलाडीद्वय सुभयान कुण्डु र राहुल गुरुङ साथै बंगलादेशी खेलाडीद्वय आईएम मोहमद मिन्हाज उद्दिन र एफएम नएम हक समान ४.५ अंकका साथ उपाधीका लागि अग्रपंतिमा छन् ।

नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईले अभिनव कुमारलाई पराजित गर्दै ४ अंक जोडेका छन् । त्यसैगरी चार अंकका साथ बंगलादेशी आईएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरु एफएम अरविन्द प्रित सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देबौषणीक डे र अमरदीप बर्कते पछ्याउँदै छन् ।

पाँचौं राउन्डमा नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहालले बंगलादेशी एफएम मोहमद शरीफ हुसैनसँग बराबरी खेल्दै ३.५ अंक हात पारेको छ । यसैगरी बंगलादेशी एफएम महमद शरीफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवम् चौधरी पनि ३.५ अन बटुल्न सफल भएका छन् ।