हेटौँडाः हेटौंडा–१४, उत्तरपानीस्थित टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । समितिमातहतका २ सय ८८ वटा धारा, डिप बोरिङ्ग तथा पानी ट्याङ्कीसहितको खानेपानी योजना शुक्रबार बिहान एक समारोहका बीच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ ।
टसीलिङ खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भएसँगै १४ नम्बर वडाका सम्पूर्ण खानेपानी योजना बोर्डमा हस्तान्तरण भएको छ । हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटर पानी निशूल्क प्रदान गर्ने भएसँगै उपभोक्ता समिति मातहतका योजनाहरु बोर्डमा हस्तान्तरण गर्ने क्रम बढेको छ । यसअघि हेटौँडा–१४ स्थित मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेको छ । बोर्डले १४ नम्बर वडाको बनेलधापमा प्रत्येक महिनाको २२ गतेदेखि मसान्तसम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको छ ।
खानेपानी उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा समिति अन्तर्गत विगत लामो समय देखि कार्यरत कर्मचारीहरु राम सिं. थिङ्ग र जय बहादुर थिङ्गलाई उमेर हदको कारण अवकाश प्राप्त हुनु भएकोले कार्यक्रमका प्रमुख अतिथि एव उपमहानगरपालिकाकी मेयर मीनकुमारी लामा, बिशिष्ट अतिथि उपमेयर राजेश वानिया, वडाध्यक्ष दिपक खडका लगायत अन्य अतिथिहरुद्धारा दोसल्ला ओढाई, प्रमाण पत्र र नगद सहित सम्मान तथा बिधाई समेत गरिएको थियो ।
टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जगत बहादुर सिन्तानको सभाअध्यक्षता तथा नगरप्रमुख मीनकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष दीपक खड्का, हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टको पनि आतिथ्य रहेको थियो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको सेवा क्षेत्र भित्र २६ हजार ५ सय धारा रहेको छ । बोर्डले दैनिक २ करोड ५५ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले जानकारी गराउनु भएको थियो ।