हेटौँडाः चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा आइतबार भेटिएको शवको सनाखत भएको छ । गत शुक्रबार चितवन जिल्लाको राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई आक्रमण गर्ने बाघको खोजी गर्ने क्रममा भेटिएको शव चितवन जिल्लाको राप्ती नगरपालिका–१, दुबीचौरका १७ वर्षीय पुष्पराज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाघको आक्रमणबाट पौडेलको मृत्यु भएको थियो । नरभक्षी बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीले कम्मरभन्दा माथिको भागको अस्थीपञ्जर मात्रै भेटेको थियो । मृतकका बुवा ईन्द्रबहादुर तामाङले बालकले लगाएको पाईन्ट र चप्पलको आधारमा सनाखत गरेको प्रहरी जानकारी दिएको छ ।
नेपाली सेना र निकुञ्जका अधिकारीले मध्यवर्ती क्षेत्रबाटै नरभक्षी बाघलाई शनिबार राती ९ बजेर ४० मिनेटको समयमा नियन्त्रणमा लिएको छ । नरभक्षी बाघलाई वन्यजन्तु केन्द्र चितवन लगिएको प्रहरीले जनाएको छ ।