फाइल तस्वीर ।

हेटौँडाः रियल स्टार क्लब हेटौँडामा जारी स्व. सुदर्शन घिमिरे स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा नव जनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । म्यान अफ द म्याच रियल स्टारका सोहन मोक्तान घोषित भए । फाइनल प्रवेश गरेका रियलले बागमती गाउँपालिका र रिगल हेटौंडा रिसोर्टबीचको विजेतासँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत अहिले दोस्रो सेमिफाइनल खेलमा बागमती गाउँपालिका र रिगल हेटौँडा रिसोर्टबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।