हेटौंडाः मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हेटौंडामा पहिलो पटक यही मंसिर १२ गतेदेखि १७ गतेसम्म अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद काठमाडौं, बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौंडा, हेटौंडा उपमहानगरपालिका र हेटौंडाको वडाहरुको आर्थिक सहयोगमा हुन लागेको मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा विभिन्न देशबाट करिब १३० जना खेलाडीले नाम दर्ता गराइसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नाम दर्ता गराउने प्रतियोगिहरुमध्ये ८० प्रतिशतको हाराहारीमा बाहिर देशको रहेका उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगीहरुका लागि ५ रात ६ दिनको लागि निःशुल्क खाने बस्ने व्यवस्था गरिएको छ । प्रतियोगिता ९ राउण्डमा खेलाइनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं र छैटौंदेखि दशौंसम्म हुनेले क्रमशः १ लाख २५ हजार रुपैयाँ, ७५ हजार रुपैयाँ, ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ६१ लाख १२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।