हेटौंडाः हेटौंडा–४, हुप्रचौर सामदान चर्च अगाडिको झाडीमा भेटिएका नवजात शिशुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अघिल्लो बिहीबार साँझ ६ बजेको समयमा स्थानीयले बच्चा रोएको सुनेपछि हेर्ने क्रममा सालनालसहितको नवजात शिशु भेटिएको थियो ।
नवजात शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली र स्थानीयले नवजात शिशुको उद्दार गरेर हेटौंडा अस्पताल पुर्याएका थिए । नवजात शिशु कसले राखेको भन्ने एक हप्ता बितिसक्दा पनि पत्ता लागेको छैन । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
यता हेटौंडा उपमहानगरपालिकाले एक सूचना जारी गर्दै शिशुको हकदाबी गर्न आह््वान गरेको छ । मकवानपुरमा यस्ता खालका घटना विकराल बन्दै गइरहेको छ । केही समयअघि हेटौंडा अस्पतालको डस्टविनमा एक शिशुको शव फेला परेको थियो । शिशुको शव कसले राखेको भन्ने अझै पत्ता लागेको छैन ।