कुनै पनि देश समृद्ध बन्न त्यस देशमा खेल क्षेत्रको विकास हुनुपर्छ । खेलकुदलाई देशको सामाजिक तथा आर्थिक विकासको एउटा महत्वपूर्ण माध्यम मान्न सकिन्छ । खेल क्षेत्रको विकासका लागि खेलाडीलाई उचित अवसर र प्रोत्साहन दिनुपर्छ । खेल र खेलाडीलाई प्रोत्साहन गर्न प्रत्येक नागरिकलाई खेलप्रति आकर्षित गर्नु आवश्यक हुन्छ । खेलकुदमा नागरिकको सक्रिय सहभागिता हुँदा उनीहरुको स्वास्थ्य र क्षमता अभिवृद्धि हुन्छ । खेलकुदको माध्यमबाट अनुशासन कायम गर्न, व्यक्तित्व तथा नेतृत्व विकास गर्न र सामाजिक सद्भाव कायम गर्नसमेत मद्दत पुग्दछ । विभिन्न खेल तथा खेलाडी विकासको थुप्रै सम्भावना भए पनि हाम्रो देशको सरकारले प्रभावकारी कार्यक्रम ल्याएर पर्याप्त बजेट विनियोजन नगर्दा खेल क्षेत्र र खेलाडीको आशातित विकास हुन सकेको छैन । खेलकुदका लागि आवश्यक सुविधासम्पन्न पूर्वाधारको अभावमा पर्याप्त खेलाडी आकर्षित हुन सकेका छैनन् । खेल क्षेत्रमा समेत चरम राजनीति हावी भइरहँदा खेलाडीको मनोबलसमेत उच्च हुन सकेको छैन ।
सरकारले खेलकुदको विकासका लागि पर्याप्त ध्यान दिन नसके पनि मकवानपुर जिल्लाले थुप्रै खेलाडी उत्पादन गरेर खेल क्षेत्रको उर्वर भूमिको पहिचान बनाउँदै आएको छ । फुटबल, भलिबल, क्रिकेट, मार्सल आर्टस्लगायत विभिन्न खेलमा मकवानपुरे युवाले राष्ट्रिय स्तरका अब्बल खेलाडीको परिचय बनाउन सफल भएका छन् । रुपमाहेटौंडाः दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) शनिबारबाट सुरु हुँदैछ । प्रतियोगितामा यस पटक मकवानपुरका ९ जना खेलाडीले विभिन्न क्लबबाट लिग खेल्दैछन् । एनएसएलको दोस्रो सिजनमा झापा एफसीबाट मात्रै ५ जना मकवानपुरे खेलाडीले खेल्ने भएका छन् । यस्तै, पोखरा थन्डर्सबाट ३ जना र इलाम एफसीबाट एक जना मकवानपुरे खेलाडीले लिग खेल्दैछन् । यसपटक लिग खेल्ने ९ जनामध्ये ३ जना खेलाडीले पहिलो संस्करणमा समेत खेलेका थिए ।
राष्ट्रिय टिमका खेलाडीसमेत रहेका मकवानपुरे अञ्जन विष्टले यसपटक झापा एफसीबाट लिग खेल्दैछन् । विष्ट मार्की खेलाडीको रुपमा क्लबमा अनुबन्ध भएका हुन् । उनले अघिल्लो सिजनमा ललितपुर सिटीको कप्तानी गरेका थिए । विष्टले गत सिजनमा ७ गोल गर्दै पल्सर अवार्डसमेत जितेका थिए । यस्तै, अनिष देउला, सुरज विष्ट, छिरिङ लामा र समीराज थोकरले पनि झापा एफसीबाट लिग खेल्ने भएका छन् । राष्ट्रिय फुटबल टिमका अर्का मकवानपुरे सदस्य आयुष घलानले यसपटक पनि पोखरा थन्डर्सबाट मार्की खेलाडीको रुपमा लिग खेल्दैछन् । विमल पाण्डे र एन्जल महर्जनले पनि पोखरा थन्डर्सबाट लिगमा खेल्दैछन् । विमल पाण्डेले एनएसएलको यस सिजन इलाम एफसीबाट खेल्दैछन् । एनएसएल लिगमा अनुबन्ध भएका मकवानपुरे खेलाडीले एक लाखदेखि माथि पारिश्रमिक पाउने भएका छन् ।
मकवानपुर जिल्लाले देशका लागि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी दिएको छ । जिल्लामा खेलकुद पूर्वाधार वृद्धि हुँदै जाँदा भविष्यमा थप खेलाडी उत्पादन हुने विश्वास गर्न सकिन्छ । विगतमा खेलकुदका लागि आवश्यक पूर्वाधारको कम हुँदा पनि मकवानपुरबाट थुप्रै चर्चित खेलाडी उत्पादन भएका थिए । बागमती प्रदेशको राजधानी भएपछि हेटौंडामा खेल गतिविधि पनि वृद्धि भइरहेको छ । मकवानपुर जिल्लामा विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरी प्रशिक्षकको व्यवस्था गर्न सकेमा भविष्यमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादनका लागि मकवानपुर उर्वर भूमि बन्नेमा कुनै शंका छैन ।