शैक्षिक संस्थातर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेन्सका प्रिन्सीपल पुरनबहादुर जोशीलाई सम्मान गरिँदै ।

हेटौंडाः आन्तरिक राजस्व कार्यालय हेटौंडाले मकवानपुरका करदातालाई सम्मान गरेको छ । बिहिबार राष्ट्रिय कर दिवसको अवसरमा कार्यालयले कर दिवसको अन्तिम दिन एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने मकवानपुरका ५ करदातालाई सम्मान गरेको हो ।

सबैभन्दा बढी कर तिर्नेमा शैक्षिक संस्थातर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेन्स प्रालि सम्मानित भएको छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले ४३ लाख ७७ हजार ९२५ रुपैयाँ कर दाखिला गरेको थियो । यस्तै, उद्योगतर्फ प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालि सम्मानित भएको छ । उसले एक करोड ९ लाख ८० हजार ६४८ रुपैयाँ कर दाखिला गरेको थियो । सेवा निर्माणतर्फ विपिआर कन्स्ट्रक्सन प्रालि सम्मानित भएको छ । विपिआरले ५४ लाख ७२ हजार ६३९ रुपैयाँ राजस्व दाखिला गरेको थियो ।

सम्मान कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

व्यापारतर्फ २९ लाख ९० हजार ५९३ रुपैयाँ रकम कर दाखिला गर्ने सिंह एण्ड ब्रदर्श सम्मानित भएको छ । वित्तीय संस्थातर्फ २५ लाख १ हजार ९५९ रुपैयाँ राजस्व बुझाउने पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । कर कार्यालय हेटौंडाले करदातालाई प्रोत्साहित गर्न हरेक वर्ष कर दिवसको अवसरमा सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गर्दै आएको छ ।

दिवसका अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नायव सुव्वा जनक ढकाललाई नगद ५ हजारसहित सम्मान गरिएको छ । कार्यक्रमका बीच निजामती सेवा पुरस्कारबाट सम्मानित हुने कार्यालयकी नायव सुव्वा शुभलक्ष्मी लामालाई कार्यालयले प्रशंसापत्र प्रदान गरेको छ । लामा नेपाल सरकार मन्त्रीपरिषद्को २०८० असोज २१ गतेको निर्णयअनुसार नगद एक लाखसहित निजामती सेवा दिवस २०८० बाट पुरस्कृत हुनुभएको थियो ।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको प्रमुख आतिथ्य तथा प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवापुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, सुरक्षा निकायका प्रमुखहरु, लेखा परीक्षक कम्पनिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।