फाइल तस्वीर ।

हेटौँडाः सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछ । हेटौँडा स्पोर्टस् मुण्डियालको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आज पहिलो खेल कमाने फुटबल एकेडेमी र रियल स्टार क्लब बीच हुनेछ भने दोस्रो खेल आयोजक एफसी मुण्डियाल र सहिद स्मृति क्लब बागमती गाउँपालिका बीच हुनेछ । दुबै समुहका विजेता टिमले सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

हिजो बुधबार भएको पहिलो खेलमा न्यु डाँफे युथ क्लबले पदमपोखरी फुटबल एकेडेमीलाई १–० को गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने दोस्रो खेलमा रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरले थाहा नगरपालिकालाई ५–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा १४ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ ।