हरेक राज्यको आम्दानीको प्रमुख स्रोत कर हो । राज्यले असुल गर्ने कर रकमबाट राज्य सञ्चालन गर्ने र आफ्ना नागरिकलाई सुविधा दिने हो । देशको प्रशासनिक कार्य सञ्चालन गर्न, विकास निर्माणको काम गर्न र आम नागरिकलाई राज्यले सेवा, सुविधा दिन सरकारले विभिन्न प्रकारका कर लिने गर्दछ । कर लिनु राज्यको अधिकार हो भने कर तिर्नु नागरिक तथा व्यावसायिक संस्थाको दायित्व हो । विकसित मुलुकहरुमा सरकारलाई कर तिर्नुलाई हरेक नागरिक तथा व्यावसायिक संस्थाले गौरवको रुपमा लिने गर्दछन् भने विकासोन्मुख देशमा कर छल्नुलाई बढी महत्व दिने गरेको पाइन्छ । व्यक्तिसँग भएको सम्पत्ति र व्यक्तिले गर्ने आम्दानीको आधारमा राज्यलाई कर तिर्नुपर्छ । उद्योग–कलकाराखाना तथा व्यापार–व्यवसायले कारोबार तथा नाफाको आधारमा कर तिर्ने गर्दछन् । यसअनुसार बढी सम्पत्ति हुने, बढी आम्दानी गर्ने, बढी नाफा आर्जन गर्नेले बढी कर तिर्नुपर्ने हुन्छ । तर, नेपालमा धेरै सम्पत्ति हुने, धेरै नाफा कमाउने र धेरै आम्दानी गर्नेले नै कर छली गर्न अग्रसर हुने गरेको पाइन्छ ।
नेपालमा करबारे जनचेतना अभिवृद्धि गर्ने तथा कर तिर्ने परिपाटीको विकास गराउने उद्देश्यले सरकारले हरेक वर्ष मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाउने गरेको छ । नेपालमा मूल्य अभिवृद्धि करको सुरुवात भएको दिनको स्मरणमा मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउनुका साथै १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाउने गरिएको हो । कर सप्ताहको अवधिमा कर संकलन गर्ने सरकारी निकाय तथा व्यावसायिक संघसंस्थाले करबारे सचेतना प्रदान गर्दै करदातालाई कर तिर्न प्रोत्साहन गर्ने गर्दछन् । कर सप्ताहकै क्रममा कर कार्यालयहरुले उत्कृष्ट करदातालाई सम्मानसमेत गर्ने गरेको छ । यस वर्ष ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ कर दिवस र कर सप्ताह मनाइँदैछ । कर दिवस तथा कर सप्ताहले उद्योगी, व्यवसायी तथा विभिन्न पेसा तथा क्षेत्रबाट आम्दानी गर्नेहरुलाई कर तिर्नुपर्छ भन्ने सचेतना वृद्धि गर्न र कर तिर्न उत्प्रेरित बनाउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।
कर सप्ताहको अवसरमा आन्तरिक राजश्व कार्यालय हेटौंडाले मंगलबार एक कार्यक्रम गरेर मकवानपुरमा करदाताको अवस्थाबारे जानकारी गराएको छ । कार्यालयका अनुसार मकवानपुरमा १ लाख २ हजार ६ सय ८९ जना करदाता रहेका छन् । जिल्लामा कुल ४ लाख ६६ हजार ७३ जना जनसंख्या रहेकोमा २२ प्रतिशत करदाता भएको कार्यालयले जनाएको छ । मकवानपुरमा ३१ हजार ८ सय ५७ जनाले आयकर तिर्ने गरेका छन् । ५ हजार ५ सय ३१ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) र १ हजार ६ सय १६ करदाता अन्तःशुल्कमा दर्ता भएका छन् । यस्तै, व्यावसायिक प्यानमा ६ सय ६८ जना र व्यक्तिगत प्यानमा ७० हजार १ सय ६४ जना करको दायरामा समावेश भएको कार्यालयको तथ्यांक छ । आन्तरिक राजश्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ५० करोड ३९ लाख ४२ हजार रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८० करोड ४५ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कार्तिक महिनासम्म १ अर्ब ८७ करोड ४६ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ ।
लोककल्याणकारी सरकारले करबापत उठाएको रकमको उचित सदुपयोग गरेर आम नागरिकको सुविधा र हितका लागि खर्च गर्नुपर्छ । सरकारले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता सामाजिक क्षेत्र र रोजगारी सिर्जनामा करबापत संकलन भएको रकम लगानी गरेर नागरिकका लागि सुविधा दिन सकेमा नागरिकहरु कर तिर्न प्रोत्साहित हुन्छन् । तर, नेपालमा करबापत संकलन भएको रकमले सरकारको दैनिक प्रशासनिक खर्चसमेत धान्न धौ–धौ परिरहेको हुँदा आम नागरिकको सुविधामा प्रत्यक्ष लगानी पर्याप्त हुन सकेको छैन । नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी राज्यले सुविधा दिन नसक्दा कर तिर्नु भनेको बालुवामा पानी हाल्नुसरह हो भन्ने करदाताको मानसिकता बनेको छ । राज्यलाई कर तिर्नुपर्छ भन्ने चेतना नहुनु र चेतना भए पनि कर तिर्नभन्दा कर छल्न खोज्ने परिापाटीका कारण सरकारले पर्याप्त कर संकलन गर्न सकेको छैन । सरकारले वर्षेनि मनाउने गरेको कर दिवस तथा कर सप्ताहले नागरिकलाई कर तिर्न प्रोत्साहित गर्नेमात्र नभई नागरिकले तिरेको करको सदुपयोग भएको विश्वास दिलाउन सक्नुपर्छ । कर निर्धारण प्रक्रियालाई पारदर्शी बनाएर बिना झन्झट सहज तरिकाले कर तिर्न पाउने व्यवस्था गरेर संकलित करको सदुपयोग गर्न सकेमा थप करदाता करको दायरामा आउने सम्भावना देखिन्छ ।