हेटौँडाः हेटौँडा अस्पताल बागमती प्रदेशको दोस्रो उत्कृष्ट अस्पताल हुन सफल भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षामा हेटौँडा अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित हुँदै सम्मानित भएको हेटौँडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ वटा अस्पतालहरु मध्ये नुवाकोट अस्पताल प्रथम र धादिङ अस्पताल तेस्रो भएको छ । कार्तिक २१, २२ र २३ गते भएको वार्षिक समिक्षामा हेटौंडा अस्पतालसँगै स्वास्थ्य कार्यालयहरु मध्ये जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर दोस्रो भएको छ । आर्थिक वर्ष २०७९/८० मा भएको स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सेवाको सुचक तथा प्रस्तुतीकरणको मूल्यांकनको आधारमा हेटौँडा अस्पताल दोस्रो भएको सापकोटाले बताउनुभयो ।

“हेटौँडा अस्पतालले सेवा कायम राख्न नै ठूलो कुरा हो”, सुपरिटेन्डेन्ट डा. सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार हेटौँडा अस्पतालले अबको १५ दिनभित्रमा एमआरआई सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवाको विवरण, रिपोर्टिङको समय, भर्नाको संख्याको जस्ता विभिन्न मापदण्डको आधारमा मूल्यांकन भएको सापकोटाले जानकारी दिनुभयो ।