छठ पर्व नेपाल र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाइन्छ । पछिल्लो समय पहाडी मात्रै नभई उच्च पहाडी क्षेत्रमा पनि मधेशी समुदायले मात्रै नभई पहाडी समुदायले पनि छठ पर्वलाई भक्तिभावका साथ मनाउने प्रचलन बढ्दो क्रममा छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । हेटौँडामा पनि राप्ती तटमा छठघाट निर्माण गरी आज आइतबार साँझ अस्ताउँदो सूर्यको उपासना गरिँदैछ । छठ पुजाको अवलोकनका लागि हजारौं संख्यामा सर्वसाधारणको सहभागिता रहने गरेको छ ।

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

छठ पुजाले नेपाली समाजमा फरक समुदाय, भुगोललाई समेत एकतामा बाँध्ने महत्वपूर्ण सामाजिक योगदानको कार्य पनि गरिरहेको छ । फरक भुगोल र समुदायको पर्वलाई आत्मसात गर्दै जानुले समुदायमा सौहाद्र्धता र हार्दिकता समेत प्रवद्र्धन भइरहेको छ । धार्मिक मूल्य, मान्यता र परम्पराको पालना मात्रै नभई नेपाली समाजको सन्दर्भमा पर्वहरु आपसी सद्भाव अभिवृद्धिको महत्वपूर्ण विषय समेत भइरहेको छ । यसर्थ यस किसिमको सौहाद्र्धतालाई अझ विस्तार गर्दै लैजानु जरुरी छ । छठ प्रकृतिको पुजा पनि हो । सूर्य शक्तिको स्रोत हो । सूर्यको शक्तिको पुजा गर्दै व्यक्ति, परिवार र समाजमा सुख सञ्चार हुने अवसर पनि छठ पर्व हो । छठ पर्वको अवसरमा समस्त श्रद्धालुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।