उपाधि साथ मंगलेश्वर युवा क्लबको भलिबल टिम ।

हेटौँडाः मकवानपुर जिल्लाको थाहा नगरपालिका–२ मा भएको छैठौँ संस्करणको विनय बाबु स्मृति भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ । सोमबार थाहा–२ स्थित थानाबजारमा भएको फाइनल खेलमा ३–० का सोझो सेटमा जित हासिल गर्दै मंगलेश्वर युवा क्लबले उपाधि जितेको हो ।

मंगलेश्वर युवा क्लबले आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले पराजित गरेको हो । मंगलेश्वरले आयोजकलाई २५–१९, २५–२२ र २५–२३ को सेटले पराजित गरेको हो । प्रतियोगिताको उपाधि विजेता मंगलेश्वरले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता आयोजक टिमले २८ हजार ८ सय २८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण प्राप्त गरेका छन् ।

प्रतियोगितामा मंगलेश्वरका बलराम सुवेदी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् भने रोशन गोपाली उत्कृष्ट स्पाइकर, कुशल लामा उत्कृष्ट सेटर, उत्सव आले उत्कृष्ट व्लकर, नवप्रतिभा खेलाडी सुजल कार्की घोषित भए । विधागत उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम विनयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको पनि आतिथ्य रहेको थियो ।