नवनिर्वाचित समितिलाई माइन्युट पुस्तिका हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले पूर्वविद्यार्थी भेलाको आयोजना गरेको छ । सोमबार बिहान विद्यालयमा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता तथा संस्थापक अध्यक्ष मोहनप्रसाद शर्माको प्रमुख आतिथ्यमा पूर्वविद्यार्थी भेलाको आयोेजना गरिएको हो ।

पूर्वविद्यार्थी भेलाले सुदीप बर्तौलाको अध्यक्षतामा २३ सदस्यीय बालजागृति आल्मुनाई एसोसिएसन गठन गरिएको छ । आल्मुनाईको उपाध्यक्षमा प्रमिषा पौडेल, सचिवमा अनिल बनियाँ, सहसचिवमा अयास श्रेष्ठ, कोषाध्यक्षमा आशिष पौडेल चयन हुनुभएको छ । पहिलो पटक आयोजना गरिएको भेलामा सहभागी पूर्वविद्यार्थीले आपसमा तथा शिक्षकहरुसँग भलाकुसारी गर्दै विद्यालय जीवनको स्मरण गरेका थिए भने केहीले गायन कला, साहित्यिक रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक प्रकाश ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाको पनि उपस्थिति रहेको थियो ।

२०५२ सालमा स्थापना भएको बालजागृतिका विद्यार्थी २०६२ सालदेखि एसएलसीमा सहभागी भएका थिए । हालसम्म एक हजार सात सय भन्दा बढी विद्यार्थीले एसएलसी तथा एसईई उत्तीर्ण गरिसकेको विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । पूर्वविद्यार्थीलाई संगठित गरेर पूर्वविद्यार्थी र विद्यालयले संयुक्तरुपमा सामाजिक सेवाको क्षेत्रमा क्रियाशील हुन तथा विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीको प्रगति विवरण तयार पार्ने प्रयास विद्यालयले गरेको उहाँले बताउनुभयो ।